शंखमुलमा ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बाबु पक्राउ, झापा र कास्कीबाट दुई जना पक्राउ

काठमाडौं । आफ्नै ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । आफ्नै छोरीलाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै झापामा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाह्रदशी गाउँपालिका-५ कटरडागी बस्ने ५८ वर्षीय हर्कबहादुर मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी कास्कीमा २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपालिका-१० अन्नपूर्ण टोल बस्ने ५५ वर्षीय हरि बहादुर गुरुङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई डर, धाकधम्की देखाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।








