‘सोह्रश्राद्धमा पुरोहितलाई रोक लगाएर सरकारले धर्ममा हस्तक्षेप गर्यो’

काठमाडौं । हिन्दु सनातन धर्ममा गरिँदै आएको कर्मकाण्ड (विवाह, ब्रतबन्ध, पुजा, श्राद्ध आदी) गर्दा जजमानले पुरोहितलाई स्वइच्छाले दान द्रव्य दिने संस्कार छ । तर, पछिल्लो समय केहि व्यक्ति तथा पुरोहितले धर्म संस्कारका कार्यहरुलाई व्यापार बनाउँदै गएका छन् ।

झन कोरोना संक्रमणको महामारीमा रेटै तोकेर यसैलाई अनलाइन विजनेशमा ढाल्ने पुरोहितहरुको संख्या बढ्दो छ । कतिपय अनलाइन साइटहरुले सोह्रश्राद्ध अनलाइनबाट गराउँदा रेट नै राखेका छन् । विवाह, ब्रतबन्ध, बच्चाको नामाकरण लगायत पुजा पाठमा निश्चित रकम माग गर्दा जजमानले आनाकानी नगरेपनि पितृ तर्पण कार्यक्रम अर्थात् श्राद्धको रेट तोकेपछि विक्रिति आएको सरोकारवालाहरुको भनाई छ ।

‘सनातन हिन्दु संस्कार भित्रपर्ने कर्मकाण्डहरु गर्दा पुरोहितलाई यति नै दिनुपर्छ भन्ने शाष्त्रमा लेखिएको छैन । तथापि, जजमानले कर्म गरेपछि ब्राम्हणलाई यथासक्य खुसी तुल्याउनु पर्छ र पुरोहितले पनि जजमानबाट प्राप्त गरेको दान द्रव्यमा खुसी हुनुपर्छ भनिएको छ । श्राद्ध, पुजा पाठलाई व्यवसाय बनाउन हुँदैन ।’ राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय अध्यक्ष डा. माधब प्रसाद भट्टराई बताउँछन् ।

डा. माधब प्रसाद भट्टराई

उनले दक्षिणा भनेको श्रद्धाले दिने भएकोले ज्याला बनाउन नहुने जिकिर गरे । ‘दक्षिणा भनेको श्रद्धाले लिनेदिने हो, यति नै दिनुपर्छ भन्नुको अर्थ त ज्याला भइगयो नी । कुनै पनि धार्मिक कर्म गर्दा त्यो दिन कर्ताले पुरोहित र उसको परिवारलाई पुग्ने गरी सन्तुष्ट हुने गरी दान द्रव्य दिनुपर्छ भनिएको छ । पुरोहितले कुनै गुनासो गर्नु हुँदैन ।’

कोरोना संक्रमणका कारण अनलाइनबाट सोह्रश्राद्ध गर्नु भनेर राज्यले निर्देशन दिनुपनि गलत रहेको डा. भट्टराईको भनाई छ । ‘धर्ममा सरकारले हस्तक्षेप गरेको छ । सरकार त धर्मप्रति स्वतन्त्र हुनुपर्छ । कोरोना संक्रमणको डर छ भन्दैमा सनातनदेखि गर्दै आएको संस्कार मान्न रोक लगाइनु हुन्न ।’

सोह्रश्राद्ध पितृ कार्यमा पर्ने तथा ब्राम्हण र एक दुई जना कर्ताहरु मात्र भएर गर्न सकिने भएकोले ब्राम्हणलाई जजमान कहाँ जानै नदिने गरी रोक लगाइनु गलत भएको उनको भनाई छ । ‘धर्म, संस्कार संस्कृतिसँग राज्य जोडिनु हुँदैनथ्यो । श्राद्ध अनलाईनबाट कसरी गर्न सकिन्छ ? पुरोहितलाई कसरी टिका लगाई दिने ? कसरी विधि पुर्याउने ?’ उनको प्रश्न छ ।

भट्टराईले हिन्दु शाष्त्रमा जजमान र पुरोहितको अन्तरसम्बन्ध हुने र दुवैले एकले अर्कालाई सम्मान र आदरभाव प्रस्तुत गर्नुपर्ने पनि बताए । ‘पिता पुर्खाले पुरोहितलाई ठग्दा अनिष्ट हुन्छ, पुरोहितले पनि जजमानलाई आदरसम्मान गर्नुपर्छ, सुखदुखःमा साथ दिनुपर्छ भन्थे । तर, आजकल पुरोहित र जजमानविच अन्तरसम्बन्ध हरायो, पुरोहितहरु व्यवसायमुखी भए ।’ नेपाल पञ्चाङग निर्णायक समितिका पूर्व अध्यक्ष समेत रहेका डा. भट्टराईको तर्क छ ।

विषम परिस्थितिमा सोह्र श्राद्ध गर्न नसके त्यसपछिका दिनहरुमा गर्न सकिने उनले उल्लेख गरे । ‘सोह्र श्राद्धका तिथीहरुमा कथंकदाचित पितृहरुलाई तर्पण गर्न सकिएन भने सार्नपनि सकिन्छ । यस्तो बेला पितृहरुले पनि बुझेका हुन्छन् ।’
आगामी महिनाको कृष्णपक्षको सम्बन्धित तिथिमा पनि श्राद्ध गर्न सकिने उनको भनाई छ । कात्तिक कृष्णपक्षको अमावश्या तिथिमा पनि गर्न सकिन्छ । त्यसमा पनि संभव भएन भने आफ्नो अनुकुलता हेरेर पछि गर्दा केही फरक पर्दैन ।’

भर्चुवल सोह्रश्राद्ध !

यता केही अनलाइन एप्लिकेसन चलाउनेहरुले भर्चुवल सोह्रश्राद्ध गरेको रेटै तोकेर अनलाइनबाटै गर्ने व्यवस्था गरेका छन् । ज्योतिष सेवा दिने केही साइटहरुले भर्चुवल श्राद्ध गर्ने प्रचार प्रसार गरेका छन् । घर पार्लर नामक कम्पनीले ‘घर–पण्डित सेवा’ सुरु गरेको छ । ‘अनलाइनबाटै श्राद्ध गरौँ, संक्रमणबाट बचौं’ भनेर शुरु गरीएको सेवामा सेवाग्राहीहरु जोडिएका छन् ।

कम्पनीले भर्चुवल श्राद्धको कति लिने उल्लेख गरेको छैन । तर, यसका सिइओ नेपाली सुमनले भने २१ सय रुपैंया तोकेको बताए । ‘पहिले हामी ‘घर–पण्डित’ भनेर घरघरमै पण्डितहरुलाई पठाउँथ्यौं । कोरोना संक्रमणले त्यो संभव नभएपछि सोह्रश्राद्धमा सेवाग्राहीलाई समस्या नआवोस भनेर भर्चुवल श्राद्धको प्याकेज ल्याएका हौं ।’ उनले भने ।

सुमनले आफुहरुले तोकिएकै रेट तिर्न नसक्नेहरुलाई पनि अनलाइनमा सहभागी हुन नरोकेको जिकिर गरे । ‘यो हाम्रो नयाँ प्रयास हो, सबैले तोकिएको शुल्क दिन सक्ने अवस्था नहुन पनि सक्छ । त्यस्ता सेवाग्राहीलाई पनि सहभागी गराउँछौं ।’ उनले भने ।

नेपाली एप हाम्रो पात्रोले पनि अनलाइन श्राद्ध सेवा उपलब्ध गराएको छ । हाम्रो पात्रोको हाम्रो ज्योतिषमा गएर अनलाइनमा उपलब्ध भएका ज्योतिषहरुबाट श्राद्ध गराउन सकिने व्यवस्था गरीएको छ ।

लाजिम्पाटमा रहेको एस्ट्रो विधाले पनि अनलाइन सोह्रश्राद्ध प्याकेज ल्याएको छ । उसले २ हजार तिरेर अनलाइन मार्फत सोह्रश्राद्ध गर्न सकिने भनेको छ । पाँच लाख भन्दा बढि सेवाग्राहीलाई अनलाइन मार्फत नै ज्योतिष सेवा प्रदान गर्दै आइरहेको एस्ट्रो विधाले लकडाउनका कारण पुरोहितलाई घरमै बोलाएर सोह्रश्राद्ध गर्न नसक्ने अवस्थालाई सहजिकरण गर्न अनलाईन सेवा शुरु गरेको बताएको छ ।

‘२ हजार अग्रिम भुक्तानी गरेर सेवाग्राहीले हामीसँग भएका विभिन्न पुरोहित मार्फत भर्चुवल श्राद्ध गर्न सक्नुहुन्छ । विधि र सामग्रीहरु उहाँहरुले नै तयार गर्नुपर्छ । श्राद्ध गराउन उहाँहरुले जुम, स्काइप वा म्यासेन्जर प्रयोग गर्न सक्नुहुन्छ ।’ कम्पनीका सञ्चालक परिवेश कोइरालाले भने । श्राद्ध संस्कार र संस्कृति भित्र जोडिएकोले रेट तोक्न नहुने भएको भएपनि आफुहरुले दक्षिणामा एकरुपता होस् कसैलाई बढि कसैलाई घटी नहोस् भनेर रेट राखेको जिकिर गरे ।

भर्चुवल श्राद्धमा सबैले अनलाइन सेवा इ–सेवा, खल्ती लगायतका एपहरुबाटै भुक्तानीको व्यवस्था गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले त सार्वजनिक सुचना नै जारी गरेर सोह्रश्राद्ध भर भर्चुवल सेवा प्रयोग गर्न आग्रह गरेको छ । तथापि, यो त्यत्ति व्यवहारिक नभएको सेवाग्राहीहरुको धारणा छ । ‘श्राद्ध, पुजा पाठ भन्ने वित्तिकै जजमान र पुरोहित एकै ठाउँमा भएर गर्नुपर्छ भनिन्छ । अहिलेको संक्रमणमा बैकल्पिक उपाय त होला तर, त्यसले कर्तालाई आत्मसन्तुष्टी भने दिँदैन ।’ नयाँ बानेश्वरका हरिशरण काफ्लेले भने ।

विवाह, श्राद्ध जस्ता धार्मिक कार्यहरुमा परम्परागत रुपमा प्रत्यक्ष पुरोहित र कर्ताकै सभागितामा हुँदै आएको अवस्थामा नयाँ पुस्ताहरुले अपनाउन खोजेको भर्चुवल पद्दतिलाई कतिले रुचाएका छन् कतिले भने व्यवहारिक नभएको तर्क गरेका छन् । युवाहरुले समय र परिस्थिति अनुरुप डिजिटलाइजेशन हुनुपर्ने बताउँदा कतिपय पुरानो पुस्ताहरुले आत्मसात गर्न सकेका छैनन् । विभिन्न कारणले विदेशिएका नेपालीहरूले भने केहि वर्ष अगाडीबाटै भर्चुवल कर्मकाण्ड गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *