केएमसीमा डा. सुनिल शर्माको प्रवेश, चिकित्सा शिक्षा र सेवामा अग्रणी संस्था बनाउने उद्घोष

काठमाडौं । काठमाडौं मेडिकल कलेज(केएमसी) मा डा. सुनिल शर्मा भित्रिएका छन् । विराटनगर स्थित नोवेल मेडिकल कलेजको कुशल व्यवस्थापन गरेका डा. शर्माले केएमसीमा समेत लगानी गरेका छन् ।

केही समयदेखि आन्तरिक व्यवस्थापनमा फितलो बन्दै गइरहेको केएमसीले नयाँ लगानीका साथ डा. सुनिल शर्मालाई कलेजमा प्रवेश गराएको हो । स्रोतका अनुसार डा. शर्माले हाल केएमसीको २५ प्रतिशत शेयर लिएका छन् । तर, उनी ५१ प्रतिशत भन्दा बढि शेयर लिने गरी केएमसीमा आएका हुन् ।

केएमसीकी प्रमुख कार्यकारी अधिकृत तथा प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीले आफ्नो अधिकांश शेयर विक्रि गरेको केएमसी स्रोतले बतायो ।

स्थापना कालमा निजी क्षेत्रको राम्रो स्वास्थ्य संस्थामा दर्ज भएको केएमसी पछिल्लो समय कमजोर व्यवस्थापनका कारण विग्रँदै गएको थियो । डा. शर्माको नेतृत्वमा केएमसीले मेडिकल शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य प्रगति हासिल गर्ने अपेक्षा गरीएको छ ।

केएमसीकाे सपथ ग्रहण गर्दै डा. शर्मा

डा. शर्मासँगै कलेजमा अन्य केही नयाँ लगानीकर्ता समेत भित्रिएका छन् । कलेजमा नयाँ लगानी कर्ता भित्रिएसँगै कलेजको शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा थप लगानी गर्ने रणनीति अपनाइएको छ । कलेजको शैक्षिक क्षेत्र गुणस्तरीय बनाउन आधुनिक पुस्तकालय, होस्टलहरु तयार गर्ने, स्वास्थ्य सेवा प्रभावकारी बनाउन विशिष्टिकृत सेवा सहित थप अस्पताल निर्माण गर्ने, अत्याधुनिक उपकरणहरु भित्र्याउने तथा ल्याब निर्माण गर्ने योजना बनाइएको छ ।

डा. शर्माकै नेतृत्वमा विराटनगरमा सञ्चालित नोवेल मेडिकल कलेज तथा हस्पिटल नेपालकै अग्रणी चिकित्सा शिक्षा तथा सेवा प्रदान गर्ने संस्थाका रुपमा स्थापित भइसकेको छ । नोवेल मेडिकल कलेज अहिले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अन्तराष्ट्रिय संस्थाका रुपमा स्थापित भइसकेको छ ।

डा. शर्माको आगमनसँगै केएमसीका सञ्चालक तथा व्यवस्थापनका पदाधिकारीहरुमा उत्साह जागेको बताइएको छ । ‘व्यवस्थापन केही खस्किएको थियो, यसले स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई नै प्रभावित बनाउँछ कि भन्ने थियो तर, नयाँ लगानीकर्ता आएपछि हामीहरुलाई पनि आशा जागेको छ ।’ केएमसी डेण्टल फ्याल्टीका एक चिकित्सकले भने ।

२०५७ सालमा प्राइभेट लिमिटेडका रुपमा स्थापना भएको ९ वर्षपछि २०६६ साल साउनमा पब्लिक लिमिटेडमा दर्ता भएको थियो । केएमसीमा नर्सिङ, एमविविएस, पिजी, एमसिएच र विडिएसका कार्यक्रमहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *