क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थागित

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगित गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ ।

कोरोनाबाट बच्न रथयात्रा स्थगित गरिएकाले इन्द्रजात्रासँग सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ ।

आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ । आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ ।

आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भिडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । भदौ ४ गते बिहीबार इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजे को दिइएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ ।

इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठ मन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताउनुभयो । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *