रुख काटिएको बारे वन कार्यालयद्वारा अनुगमन, मेयरलाई कारवाहीकाे माग गर्दै उजुरी

धरान । धरान उपमहानगरपालिकाका मेयरकै निर्देशनमा भालढुंगा सामुदायिक वनको सखुवाको रूख काटिएको बारे वन कार्यालयले स्थलगत अनुसन्धान थालेको छ । भालढुंगा सामुदायिक वन उपभोक्ता समितिले पनि इलाका सव डिभिजन वन कार्यालयमा कारवाहीको लागि उजुरी समेत दिएको छ ।

आज वन कार्यालयको एक टोलीले धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्र पुगेर अनुगमन गरेको हो । अनुगमनको क्रममा टोलीले वन क्षेत्रभित्र सखुवाको रुख काटिएको अवस्थामा फेला पारेको सव डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए ।

‘सामुदायिक वन क्षेत्रभित्र सखुवाको रुख काटिएको अवस्थामा फेला पार्यौं, १२ वटा टुना पारिएको रहेछ ।’ यादवले मकालु खबरसँग भने । अनुगमनका क्रममा स्थानीय र वन उपभोक्ता समितिका पदाधिकारीहरुसँग समेत टोलीले सोधखोज गरेको थियो । सो क्रममा उपभोक्ता समितिकै पदाधिकारीहरु विच कुरा बाझिएकोले सत्यतथ्य जानकारी दिन समितिलाई पत्र काट्ने तयारी भएको यादवले भने । ‘कतिले मेयरले नै रुख काट्न लगाएको भने, कतिले जानकारी नभएको भने । समितिकै पदाधिकारीको कुरा बाझिएको छ ।’ उनले भने ।

धरानका मेयर तिलक राइकाे निर्देशनमा काटिएकाे भनिएकाे सखुवाकाे रूख ।

अब सामुदायिक वन समितिलाई आवश्यक अनुसन्धान गरी ठोस निर्णय दिन पत्र पठाइने र त्यसैको आधारमा मुचुल्का तयार गर्ने यादवले जनाए । उनले प्रत्यक्षदर्शीको समेत कुरा बाझिएकोले कसले रुख काटेको हो किटान गर्न नसकिएको जनाए । वनको रेखदेख गर्ने जिम्मेवारी वन समितिको भएकोले उसले जिम्मेवारी लिनु पर्नेसमेत भने–‘उपभोक्ता समितिले वनको सुरक्षाको जिम्मा लिनुपर्छ । उहाँहरुले किटानी दिएपछि मात्र कसलाई कारवाही गर्ने तय हुन्छ ।’

वन ऐन २०७६ ले राष्ट्रिय वन भित्रको रुख काट्ने कार्य दण्डनीय भनेको छ । ऐनको दफा ४९ (छ) ले ‘राष्ट्रिय वनक्षेत्रको रुख वा बिरुवा काट्ने, हाँगा बिँगा छिमल्ने, खोटो वा बोक्रा झिक्ने वा कुनै पनि प्रकारले नोक्सानी गरेमा’ कसुरको रूपमा हेर्दै बिगोसहित कैद सजाय तोकेको छ ।

याेपनि हेर्नुहाेस

धरानका मेयरको ज्यादतिः आमालाई घर बनाईदिन जवरजस्ती सखुवाको रुख काटे

ऐनमा उल्लेख गरे अनुसार रुख काटेको विषयमा बिगोको आधारमा एक महिना देखि २ वर्ष सम्म कैद र आर्थिक जरिवानाको व्यवस्था छ । ऐनको दफा ५० को उपदफा ६ ले सजायको व्यवस्था गरेको छ ।

‘अनाधिकृत रुपमा वनको कुनैपनि रुखहरु काट्न मास्न पाईंदैन । त्यस्तो गरीएको ठहर भए उपदफा ६ (ङ) एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको बिगो, एक वर्षसम्म कैद वा बिगो बमोजिम जरिबाना वा दुवै, तथा (च) पाँच लाख रुपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद वा बिगोको दोब्बर जरिबाना वा दुवै हुने व्यवस्था छ ।’ वन अधिकृत यादवले भने ।

अध्ययन टोलीमा सव डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख यादवसँगै रेञ्जर इश्वरी बास्तोला, सशस्त्र वन रक्षक थिए ।
वन उपभोक्ता समितिद्वारा उजुरी

यता सामुदायिक वन समितिले मेयर तिलक राईकै निर्देशनमा रुख काटिएको भन्दै इलाका वन सव डिभिजन कार्यालयमा उजुरी दिएका छन् ।

वन समितिका अध्यक्ष बुद्धिमान तामाङले आज जानकारी सहित कारवाही गरिपाउँ भन्दै भालढुंगा सामुदायिक वन उपभोक्ता समितिद्वारा संरक्षित र हस्तान्तरण भइसकेको वन भित्र विना सूचना प्रवेश गरी ढुंगेपानी भन्ने ठाउँमा संरक्षित अन्दाजी २५० किवी आउने सालको रुख धरान उपमहानगरपालिकाको मेयर तिलक राईको निर्देशन र प्रत्यक्ष उपस्थितिमा दुइवटा विद्युतिय आरा प्रयोग गरी व्यक्तिगत प्रयोजनको लागी वा कुनै नियतले ढाल टुना गरी निकासी गर्ने तयारी गरीरहेको अवस्थामा उपभोक्ताहरुले फेला पारेको दावि गर्दै कारवाहीको माग गरेका छन् ।

शनिबार भालढुंगा वनमा सखुवाको रुख ढालिएको थियो । मेशिनले रुख ढालेर १२ वटा टुना बनाएको अवस्थामा उपभोक्ताहरुले फेला पारेका थिए । सामुदायिक वनका अध्यक्षका अनुसार उक्त रुख मेयर राईले काट्न लगाएका हुन् । मेयर राईले घर बनाउन काठ चाहियो भन्दै भनेर आमाको नाममा समितिमा निवेदन दिएका थिए । समितिले मेयरले नै काठ चाहियो भनेपछि वनमा गएर ढलापला रुखबाट काठ उपलब्ध गराउने भनेको थियो । त्यसका लागि आइतबार वन क्षेत्रमा जाने भनिएकोमा मेयरले शनिबारै धरानबाट मेसिनसहित मान्छेहरु ल्याएर समितिका कोषाध्यक्षलाई समेत प्रभावमा पारी रुख काटेको आरोप छ ।

मेयर राईले भने रुख काटिएको बारेमा आफुलाई थाहा नभएको तथा आफुले काट्न नलगाएको दावि गरीरहेका छन् । उनले आफुलाई बद्नाम गर्न लगाउनेहरुले अनावश्यक विवादमा ल्याएको जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *