महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण

न्युयोर्क, अमेरिका । नेपाली महिला आन्दोलनकी अग्रज तथा प्रजातान्त्रिक आन्दोलनकी नेतृ स्वर्गिय मंगलादेवी सिंहको २४ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले एघारौँ अन्तरराष्ट्रिय जुम भर्चुयल कार्यक्रम गरेको छ।
वहस कार्यक्रमको विषय “कोभिड-१९ पछिको नयाँ विश्वः नेपालमा महिला नेतृत्व” भन्ने थियाे । कार्यक्रमको अध्यक्षता पुर्व उप-प्रधानमन्त्री, गिरिजा प्रसाद कोइराला फाउण्डेशन कि अध्यक्ष सुजाता कोइरालाले गरेकि थिइन् । प्रमुख अतिथिमा नेपाली कांग्रेसका महामन्त्री र सांसद डा. शशाङ्क कोइराला थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताए । उनले महिलालाई अहिलेको अवस्थामा पुर्याउन स्व. सिंहको महत्वपूर्ण भूमिका रहेको बताउँदै महिलालाई पुरुष सरहको अधिकार स्थापित गराउन स्व. मङ्गलादेवी सिंह, स्व दिव्या कोइराला, शैलजा आचार्य, सुशीला कोइरालालगायत महिलाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका थिए ।
कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशन अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवी सिंह भएको बताइन् । “संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिएपनि महिलाको अधिकार किन स्थापित हुन सकेन, कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा किन महिला पछाडि परे, यसबारे सरकार र पार्टीभित्र छलफल हुनुपर्छ”, सुजताले भनिन् । महिलाले महिलालाई सहयोग गरेमात्र महिलाको आवाज बुलन्द हुने उनकाे भनाइ थियो ।
केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताइन् । “नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्छौं”, उनले भनिन् ।
यता केन्द्रीय सदस्य सरिता प्रसाईँले महिलाका कारण लोकतान्त्रिक आन्दोलन सफल भएको बताइन् । महिला अधिकार स्थापित गराउन नेपाल महिला सङ्घ लड्नुपर्ने उनकाे भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले समानताको अधिकार खोज्ने कांग्रेसभित्र नेतृत्वको अधिकारमा पनि समानता हुनुपर्ने बताइन्। उनले शिक्षा, स्वास्थ्य र रोजगारमा समानता नखोजेसम्म महिलाले अधिकार नपाउने उल्लेख गरिन् ।
कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गर्दै महिलाले आवाज उठाउन नसकेको खण्डमा महिला अधिकार स्थापित नहुने बताइन् । केन्द्रीय सदस्य किरण यादवले कोरोनाका कारण गर्भवती, सुत्केरी बढी प्रभावित भएको भन्दै उक्त वर्गलाई लक्षित गरेर सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने उल्लेख गरिन् ।
नेपाल महिला सङ्घका अध्यक्ष एवं सांसद उमा रेग्मीले महिलालाई अधिकार सम्पन्न गराउने काम महिला सङ्घको भएको बताउँदै पार्टी र सरकारसँग महिलाको हक अधिकारका लागि लड्नुपर्ने बेला आएको बताइन् ।
भर्चुवल छलफलमा प्रदेशसभा सदस्य विजुला बर्मा, कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद कि उपाध्यक्ष रबिना थापा, स्वर्गिय मंगलादेवी सिंहसँग नजिक भएर काम गर्ने महिला नेतृ तुलसालता मत्य, फाउण्डेशन युरोपका संयोजक सीता सापकोटा, फाउण्डेशन साईप्रस संयोजक रिता दुलाल, कांग्रेस नेत्री सिर्जना सिंह, कांग्रेस नेत्री ज्योत्सना साउदले बाेलेका थिए ।
यसैगरी नेवि संघ पूर्व महामन्त्री प्रतिमा गौतम, पत्रकार बिमला भण्डारी, युवा महिला उद्ममी निकिता आचार्य, जनसम्पर्क समिति ईजरायलकी प्रथम उपाध्यक्ष दिपिका भुसाल लगायतले महिलालाई नेतृत्वमा ल्याउन सबै महिला एकजुट हुनुपर्ने उल्लेख गरेका थिए ।
कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। प्रथम चरणका सञ्चालक गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरे थिए भने दोस्रो चरणमा फाउण्डेशन अस्ट्रेलिया, ऐडेलेड संयोजन दिलिप कुमार पोख्रेल गरेका थिए ।








