तालागाँड जलविद्युत आयोजना तोडफोड गर्ने वडाध्यक्ष विरुद्ध किटानी जाहेरी

अछाम । वडाध्यक्षकै अगुवाईमा नगरपालिका नै अन्धकार हुने गरी लघु जलविद्युत आयोजनाको टनेल तोडफोड गरेपछि स्थानीय जनताले वडाध्यक्ष लगायत घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका छन् ।

स्थानीय ४ जनाले हिजो शनिबार पञ्चलदेवल विनायक नगरपालिका वडा नंम्बर ५ का वडाध्यक्ष कुल बहादुर बुढा लगायतलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरी कारवाही गर्न जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जारी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जनाए ।

‘सार्वजनिक पद धारण गरेको व्यक्तिले जनतालाई नै अन्धकार हुने गरी जलविद्युत आयोजनाको कुलो (टनेल) तोडफोड गरेको र सार्वजनिक सम्पत्तिमा क्षती पुरयाएको भनेर स्थानीय शेर बहादुर बुढा, तेज बहादुर शाही, कृष्ण धामी र नरेन्द्र धामीले किटानी जाहेरी दिएका छन् ।’ प्रहरी निरीक्षक अवस्थीले मकालु खबरसँग भने ।

यो सँगै सोहि नगरपालिकाको वडा नं. ६ का वडाध्यक्ष पूर्ण बहादुर रावलका नाममा समेत किटानी जाहेरी परेको छ । उनीहरु दुवैलाई लघु जलविद्युत आयोजना र खानेपानी आयोजना तोडफोड गरेको आरोप छ ।

 एक साताअघि पञ्चलदेवल विनायक नगरपालिका वडा नंम्बर ५ का वडाध्यक्ष कुल बहादुर बुढाको नेतृत्वमा गएको समुहले तालागाँड लघु जलविद्युत आयोजनाको १ सय मिटर कुलो पूर्णरुपमा भत्काइदिएर टनेल समेत तोडफोड गरेका थिए ।

प्रहरी निरीक्षक अवस्थीले किटानी जाहेरी दर्ता भएकोले उल्लेखित व्यक्तिहरुलाई पक्राउ गर्न जिल्ला अदालतमा अनुमति लिन पत्र पठाइएको समेत बताए । ‘सार्वजनिक मुद्दा दायर भएकोले उहाँहरुलाई झिकाउने, बयान गर्ने, अनुसन्धान गर्ने र जिल्ला अदालतमा पेश गर्ने प्रक्रिया हुन्छ ।’

गत भदौ ८ गते राती ९ बजे जलविद्युत आयोजनाको टनेल तोडफोड गरेपछि अन्धकार भएको नगरपालिकामा अझै विद्युत आपुर्ति हुन सकेको छैन । स्थानीयहरु ६ दिनदेखि अन्धकारमा बस्न बाध्य भएपनि सरोकारवालाहरुले जलविद्युत आयोजना बनाउन कुनै पहल गर्न सकेका छैनन् ।

नगरपालिका मुकदर्शक

नगरपालिकाका ४ वटा वडाहरु र नगरपालिका कार्यालय समेत अन्धकार हुँदा स्थानीय सरकारको रुपमा रहेको पञ्चलदेवल विनायक नगरपालिका भने मुकदर्शक छ । लघु जलविद्युत आयोजना तोडफोड भएको विषयमा नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको छ तर, समितिले ठोस छलफल गर्न पहल गरेको छैन । ‘हिजो उपमेयर अम्बिका घोरसाइनेले सामान्य छलफल चलाए पनि राजनीति विषयमा मात्र छलफल भयो ।’ एक जनप्रतिनिधिले भने ।

याे पनि हेर्नुहाेस्

वडाध्यक्षले जलविद्युत आयोजना भत्काउँदा पाँच दिनदेखि नगरपालिका अन्धकारमा

नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले भने राजनीतिक कारणले समस्या हल गर्न नसकिएको जिकिर गरीन् । ‘विकासका काममा राजनीति घुसाएर यस्तो भएको हो । राजनीतिक दलहरुले चाहेमा एकै छिनमा विवाद समाधान हुन्छ । गाउँलेहरुले एकछिनमै विजुली पाउँछन् । त्यस्तो धेरै तोडफोड भएको छैन’ उपमेयरले भनिन् । त्यसो भए किन पहल गर्नु भएन ? भन्दा उनले समाधानको लागि पहल भइरहेको बताउँदै राजनीतिक विवाद हल भए विद्युत आपुर्ति हुन धेरै समय नलाग्ने तर्क गरीन् । स्थानीयले भने नगरपालिकाले साेलार प्रयाेग गरेकाे तथा मेयर उपमेयर अन्धकारमा बस्नु नपरेकाले समस्या समाधान नगरेकाे आरोप  लगाए ।

अम्बिका चलाउने, उप मेयर, पञ्चदेवल विनायक नगरपालिका

नगरपालिकाका मेयर देवराज देवकोटा भने यो बेला काठमाडौंमा छन् । उनले नगरका ४ वटा वडाहरु ६ दिनदेखि अन्धकार भएको थाहा हुँदाहुँदै केही गर्न नसकीएको स्विकार गरे । उनी राजधानीमा आनन्दले बसेको स्थानीयको आरोप छ । यद्यपि, मेयर देवराज देवकोटाले भने आफु विरामी भएर एक महिना देखि काठमाडौं बसेको बताए । ‘म विरामी भएर आएको हुँ, अब छिट्टै फर्कन्छु । उपमेयरलाई कार्यवाहक दिएकोले उहाँले काम गर्नुपर्ने हो ।’ उनले भने ।

नगरपालिका र जनप्रतिनिधिको अकर्मन्यताका कारण पञ्चलदेवल विनायक नगरपालिका ४ वटा वडाका ९ सय बढि घरधुरी ६ दिनदेखि अन्धकारमा छन् । त्यहाँको दैनिकी समेत प्रभावित भइरहँदा कुनै पक्षबाट पनि जलविद्युत आयोजना मर्मत गर्न गराउन पहल गरेका छैनन् ।

यता जलविद्युत उपभोक्ता समितिले भने घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याएपछि मात्र विद्युत आपुर्ति हुने जनाएको छ । उपभोक्ता समितिका इन्जिनियर मानबहादुर शाहीले आफुहरुले तोडफोड भएको भोली पल्टै नगरपालिकाको न्यायिक समितिमा दोषि उपर कारवाही, क्षतिको यकिन, क्षतिपुर्तिको माग गर्दै निवेदन दिएको बताउँदै नगरपालिकाले भर्खरै प्राविधिक पठाउन पत्र पठाएको बताए ।

उनले आजै मात्र प्राविधिकहरुले क्षतिको यकिन गरेको र नगरपालिकाले पुर्ननिर्माणमा लाग्ने खर्च व्यहोर्ने भनेकोले भोलीबाट काम शुरु भए दुई दिनमा स्थानीय उपभोक्ताले विद्युत पाउने जिकिर गरे । जलविद्युत आयोजनाको बाँध भत्काउने काम भएको छ । हामी आफैंले बनाउन सक्ने अवस्था थिएन, त्यहि भएर नगरपालिकामा निवेदन दिएका थियौं । उहाँहरुले काम अगाडी बढाउन भन्नु भएको छ । दुई तिन दिनमा बन्ला !’ इन्जिनियर शाहीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =