वडाध्यक्षले जलविद्युत आयोजना भत्काउँदा पाँच दिनदेखि नगरपालिका अन्धकारमा

अछाम । जनप्रतिनिधिहरुको काम जनताको सुख दुखःमा साथ दिनु हो । स्थानीय तहमा जनताका विच रहेर त्यहाँका आवश्यक्ताहरु सरकारको प्रतिनिधि बनेर पुरा गर्नु हो । तर, पञ्चदेवल विनायक नगरपालिकाको एउटा वडाका वडाध्यक्ष भने जनतालाई नै सास्ती दिने काम गरेका छन् ।

कुरा हो पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष कुलबहादुर बुढाको । उनकै नेतृत्वमा पञ्चदेवल विनायक नगरपालिकाको मुख्य विद्युत आपूर्तिको माध्यम क्षतविक्षत बनाइएपछि पाँच दिन देखि नगरपालिकाका पाँच वटा वडा अन्धकारमय भएको छ ।

नगरको वडा नं ५ लयाँटीका वडाध्यक्ष कुलबहादुर बुढाको निर्देशनमा करिब दुई सयको संख्यामा रहेका गाउँलेहरूले गत भदौ ८ गते राति तालागाड लघु जलविद्युत आयोजनाको कुलो भत्काइदिएका छन् । वडाध्यक्षकै नेतृत्वमा गएको समुहले जलविद्युतको करिब एक सय मिटर कुलो भत्काएपछि विद्युत पूर्ण रुपमा अबरुद्ध हुँदा नगरमा अन्धकार छाएको छ ।

तालागाड लघु जलविद्युत आयोजनाकाे भत्काइएकाे कुलाे ।

वडाध्यक्षको हर्कतलाई नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले नै प्रश्रय दिएको स्थानीयको भनाई छ ।

आफ्नो वडालाई मुहानबाट खानेपानी ल्याउन नदिएको झोंकमा विद्युतको कुलो भत्काएको बुझिएको छ । नगरपालिकामा योजना स्वीकृत नहुँदै वडा नं २ र ६ को सिमानामा पर्ने जामुने मुहानबाट खानेपानी योजनाको काम गर्दै गर्दा यसअघि वडा नं ६ का अध्यक्षले अवरोध सिर्जना गरेका थिए ।

तालागाड लघु जलविद्युत आयोजना भत्काइएकाे पाइप ।

त्यसैको बदलामा लयाँटीका स्थानीयले कुलो भत्काएर पाइपलाइन तोडफोड गर्नुका साथै खोलामा बगाएका छन् । विद्युत सेवा अवरुद्ध भएपछि यतिबेला नगरमा सन्नाटा छाएको छ । नगरका महत्त्वपूर्ण सेवाहरु ठप्प भएका छन् । ‘उहाँले किन यस्तो काम गर्नु भयो थाहा छैन, उहाँले फेसवुकमा पनि म यो गर्न बाध्य भएँ भनेर लेख्नु भएको रहेछ, म काठमाडौंमा छु, उहाँसँग फोन सम्पर्क हुन सकिरहेको छैन ।’ नगर प्रमुख देवराज देवकोटाले भने ।

उनले नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी परेकोले घटनाका सन्दर्भमा उपमेयर अम्बिका चलाउनेले छलफल चलाइरहेको बताउँदै जसले जनताको आधारभूत आवश्यक्तालाई विगार्ने काम गरेको छ, तीनलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए । ‘यो गर्न नहुने काम भयो, आज पाँच दिन देखि नगरपालिकाको काम कारवाही ठप्प छ । नगरबासीहरु अन्धकारमा छन् ।’ उनले भने ।

स्थानीय विकासको जिम्मेवारी लिएका जनप्रतिनिधि नै यस किसिमको तोडफोडमा संलग्न भएपछि जनस्तरमा आक्रोश बढेको छ । यता केही स्थानीय जनप्रतिनिधिहरुले उपप्रमुख चलाउनेकै उक्साहटमा वडाध्यक्षले जलविद्युतको कुलो भत्काएको बताएका छन् ।

नगरको वडा नं २,३,४,५ र ८ मा विद्युत सेवा पुगेको आयोजनाको उपभोक्ता समितिले पनि जलविद्युत आयोजनाको कुलो भत्काइएको विज्ञप्ति मार्फत जनाएको छ । घटनामा कुनैपनि पक्षबाट किटानी मुद्दा नदिइनुले उपभोक्ताहरुलाई सशंकित तुल्याइदिएको एक उपभोक्ताले बताएका छन् । ‘यस किसिमको उद्दण्ड क्रियाकलाप गर्ने जोसुकै व्यक्ति भए पनि सार्वजनिक अपराध अनुसारको सजाय हुनैपर्छ । समाजमा दण्डहीनता स्वीकार्न सकिँदैन ।’ एक स्थानीयले भने ।

तालागाड लघु जलविद्युत आयोजनाको करिव १०० मिटर कुलो पुर्ण रुपमा भत्काइएकोले उक्त आयोजनाको कुलो पुनः निमार्ण नहुन्जेल सम्म बत्ति अवरोध हुने आयोजनाले जनाएको छ । लघु जलविद्युतको बाध, प्यानास्टिक पाइप भत्काइएको छ ।

जल विद्युत भत्काएकाे आराेप लागेका ५ नं. वडाध्यक्ष कुल बहादुर बुढासँग सम्पर्क गर्न खाेज्दा उनकाे माेवाइल अफ रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *