पाकिस्तानमा भिषण बाढी र पहिरो, ३० जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानमा भिषण बाढी र पहिरो आएको बताइएको छ । केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो । पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पुर्याएकाे समाचारमा जनाइएको छ ।

प्राप्त पछिल्लो समाचार अनुसार बिहीबार र शुक्रबार जारी रहेको अविरल वर्षा र त्यसपछिको बाढीले गर्दा त्यहाँ कम्तीमा पनि ३० जना नागरिकको ज्यान गएको बताइएको छ । पाकिस्तानको एक पत्रिका ‘डन’ ले दिएको जानकारी अनुसार पाकिस्तानमा गएको कम्तीमा पनि ९० वर्षको रेकर्डभन्दा पनि बढी वर्षा भएको छ ।

कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो । भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पुर्याएकाे छ । यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ ।

बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भएका छन् । अकस्मातको भारी वर्षाका कारण यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । त्यसैगरी यहाँका धेरै क्षेत्रमा भौतिक संरचनाहरुमा पनि क्षति पुगेको बताइएको छ ।

वर्षा नरोकिएकोले अझै सतर्क रहन स्थानीय प्रशासनहरुले सूचना जारी गरेका छन् । आवश्यक सहयोगका लागि ठूलो संख्याका उद्धारकर्मी र सेना परिचालन गरिएको बताइएको छ । (रासस,एएनआई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *