एनसेलले तीन महिनामा गुमायो पौने ५ अर्ब

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कोरोना संक्रमण महामारीका कारण तीन महिनाको अवधिमा ४ अर्ब ७८ करोड ६० लाख रुपैयाँ गुमाएको छ । एनसेलले तीन महिनामा उक्त घाटा व्यहोर्नु परेको हो ।

एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले प्रकाशित गरेको दोस्रो त्रैमासिकको वित्तीय प्रतिवेदनअनुसार एनसेलले सन् २०१९ को दोस्रो त्रैमासिकमा १४ अर्ब ३२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेकोमा यस वर्षको सोही अवधिमा एनसेलको आम्दानी घटेर ९ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको पहिलो त्रैमासिकको आम्दानीमा समेत गिरावट देखिएको थियो । गत वर्षको पहिलो तीन महिनामा १३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ आम्दानी रहेकोमा चालु वर्षको सोही अवधिमा १२ अर्ब ३ करोड ९० लाख रुपैयाँ मात्रै कमाई भएको थियो । कम्पनीले पहिलो त्रैमासिक अवधिमा एक अर्ब ४८ करोड ८० लाख रुपैयाँको घाटा व्यहोरिसकेको थियो ।

यता कम्पनीको डेटा प्याकजेले भने आम्दानीमा केही भरथेग गरेको देखिएको छ । कम्पनीको कूल आम्दानीमा डेटा तर्फको बढ्दै गएको छ । चालु वर्षको पहिलो तीन महिनाको तुलनामा कूल आम्दानीमा डेटाको हिस्सा ४ प्रतिशतले बढेर २६ प्रतिशत पुगेको छ । एनसेलले पछिल्लो तिन महिनाको अवधिमा डेटा बिक्री वापत दुई अर्ब ४८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको दोस्रो त्रैमासिक अवधिमा डेटाको योगदान २२ प्रतिशत मात्र रहेको थियो । कूल आम्दानीमा डेटाको योगदानको प्रतिशत बढेको भए पनि कम्पनीको डेटा वापतको आम्दानीमा भने कमी आएको छ ।

गत वर्षको दोस्रो त्रैमासिकमा डेटा बिक्रीवापत ३ अर्ब १५ करोड १६ लाख ५० हजार रुपैयाँ आम्दानी भएकोमा त्यसको तुलनामा यस वर्षको सोही अवधिमा ६७ करोड १३ लाख ७० हजार रुपैयाँले आम्दानी घटेको छ ।

यता कम्पनीको सञ्चालन खर्च समेत बढेको छ । गत वर्षको दोस्रो त्रैमासिकमा ३७.४ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा सञ्चालन खर्च बढेर ४९.७ प्रतिशत पुगेको हो ।

आम्दानीसँगै कम्पनीको खुद सम्पत्ति समेत घटेको छ । गत वर्ष जुन महिनासम्म ८२ अर्ब ४१ करोड ४० लाख रहेको कम्पनीको खुद सम्पत्ति २०२० को सोही अवधिसम्म आइपुग्दा ७१ अर्ब ९५ करोड ६० लाखमा खुम्चिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *