८ लाखले गरे कोरोना बीमा, गरिसकेपछि के फाइदा हुन्छ ?

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै कोरोना बीमा गर्नेहरूको संख्या वृद्धि हुँदै गएको छ । बीमा समितिले कोरोना बीमाको मापदण्ड बनाइदिएपछि सटडाउन र निषेधाज्ञामा कोरोना बीमा गर्नेको सख्या वृद्धि भएको हो ।

बीमा समितिका अनुसार हालसम्ममा ८ लाख १ हजार जनाले कोरोना बीमा गरेका छन् । परिवारको एउटा मात्र बीमा पोलिसी हुने कारणले गर्दा हालसम्ममा ८४ हजार वटा पोलिसी जारी भएको छ ।

कोरोना बीमाबाट मात्रै करिब ४३ करोडको हाराहारीमा प्रिमियम उठिसकेको पनि बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।

कोरोना बीमा गर्न एक व्यक्तिको मात्रै एक लाख रुपैयाँको बीमा गर्ने हो भने एक हजार रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । परिवार वा समूहको गर्ने हो भने ६ सय रुपैयाँ लाग्ने प्रावधान छ ।

एक व्यक्तिको ५० हजारको बीमा गर्दा ५ सय र समूहको गर्दा ३ सय रुपैयाँ लाग्ने व्यवस्था पनि छ । परिवारको नै कोरोना बीमा गर्ने हो भने प्रतिव्यक्ति ३०० वा ६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्थानीय तहअन्तर्गत वडा कार्यालयको सिफारिस लिन सकेको खण्डमा सरकारले आधा रकम प्रिमियम खर्च बेहोरिदिन्छ । परिवारका लागि वडा कार्यालयले १ महिनादेखि सोही स्थानमा बसोबास गरिरहेको भनेर सिफारिस दिएपछि एक लाखको बीमा गर्न ३ सय रुपैयाँ प्रतिव्यक्ति मात्र तिर्दा हुन्छ ।

बीमा गर्न नेपाली नागरिक हुनुपर्ने र विदेशबाट फर्केको हो भने एक महिना नाघेको हुनुपर्ने प्रावधान राखिएको छ । बीमा समितिका अनुसार अहिलेसम्ममा १ लाख रुपैयाँको बीमा गर्नेमध्ये ७१ जनाभन्दा धेरैले बीमा भुक्तानी पाइसकेका छन् । ३ सयभन्दा धेरै भुक्तानीको प्रक्रियामा रहेको छ ।

सरकारले अनुदान दिने भएपछि एक लाख रुपैयाँको ३ सय रुपैयाँमा र ५० हजार रुपैयाँ बीमाङ्कको बीमा १ सय ५० रुपैयाँमै गर्न सकिनेछ । सरकारको चालु आर्थिक बर्षको बजेट वक्तव्यमा आम नागरिकले गर्ने सामूहिक कोरोना बीमामा ५० प्रतिशत अनुदान उपलब्ध गराउने भनेको छ । सरकारी कर्मचारीको हकमा पूरै बेहोरिदिने उल्लेख छ ।

बीमालेख खरिद गरेको १५ दिनपछि पिसिआर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पाइएमा बीमालेख बमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिन्छ । भुक्तानी प्राप्त गर्नका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको ७ दिनभित्र बिमितलाई दाबी भुक्तानी गर्नुपर्नेछ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भएमा बिमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्नेछ ।

किन गर्ने कोरोना बीमा ?

बीमा समितिबाट इजाजतपत्र प्राप्त नेपालका २० वटा निर्जीवन बिमा कम्पनीहरूमार्फत् विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा पोलिसी हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *