मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

यो जिन्दगी के हो ?

यो जिन्दगी के हो ?

यो यथार्थ हो की भ्रम हो ?
आगमन हो कि विलय हो ?

सरल उच्चाट गोरेटो हो कि वक्ररेखा हो ?
झिस्मिसे हो कि गोधुली हो ?
स्थापना हो कि सपना हो ?

कसरी म भनुँ खै-
यो जिन्दगी के हो ?

यो जिजिविषा हो कि मृगतृष्णा हो ?
यो समबेदना हो कि पाशविकता हो ?
यो आभुषण हो कि कसिंगर हो ?
यो एक बार हो कि निरन्तर हो ?

यो स्थायी हो कि क्षणभंगुर हो ?

प्रश्नै-प्रश्नहरु छन् मनमा
साँच्चै, जिन्दगी प्रश्न हो कि उत्तर हो ?

यो सापेक्ष हो कि शाश्वत हो ?
यो संयोग हो कि बियोग हो ?
यो जडान हो कि विनिर्माण हो ?

उफ् कति धेरै प्रश्नहरू ?
कति धेरै विचारहरू ?
कति धेरै आधारहरू ?
कति धेरै दोधारहरू ?

वास्तबमै यो जिन्दगी हो चाहिं के त ?
कति खियाउनु मथिङल ?
कति निम्त्याउनु कचिंगल ?
म सँग छ यौटा जवाफ्-अत्यन्तै सरल ।

न कुनै वाद, न कुनै सिद्धान्त
न कुनै उल्झन, न कुनै लेखान्त
जिन्दगी सादा कागज हो -2
आफ्नो कर्म आफैंले लेख्ने हो
जिन्दगी निर्मल जल हो
आफ्नो रङ्ग आफैंले भर्ने हो
जिन्दगी निरन्तर चक्र हो
आफ्नो यात्रा आफैंले तय गर्ने हो।

जिन्दगी बेहोशी होईन,
कहिल्यै उत्तर नभेटिने अगम्य रहस्य होईन ।
यो जिन्दगी त भोग्य, सदृश्य, सग्लो र सपाट चेतन हो ।
यो कौतुहलता जुन छ नि हामी भित्र,
यो अनुत्तरित प्रश्न होईन यो त वास्तवमा आफैंमा एउटा सुगम र सरस समाधान हो ।

म त भन्छु –
जिन्दगी के हो भन्ने प्रश्न मै नअल्झिनुस्
बरू अक्षर भर्नुस्, रंगीन बनाउनुस् अनि यात्रा नरोक्नुस्
जिन्दगीको अर्थ हैन, सार्थकता खोज्नुस्
प्रश्न हैन उत्तर सोच्नुस्, समस्या हैन समाधान रोज्नुस्

आफू बाँच्नुले आफू जस्तै अरू जिन्दगीहरूमा कति फरक पर्छ त्यो सोच्नुस्
निष्पट्ट अन्धकारमा आफू बलेर कतिलाई उज्यालो बाँड्न सक्नुहुन्छ त्यो पहिल्याउनुस्

एकछिन टक्क रोकिएर सोच्नुस् त
जब तपाईंको आफ्नै श्वास प्रश्वासले तपाईंको साथ छाडिरहेको हुन्छ

जब तपाईंको नश्वर शरीर चितामा जलिरहेको हुन्छ
या चिहानमा गाडिइरहेको हुन्छ
जब तपाईं भूतकाल बनिरहनु भएको हुन्छ
हो, त्यति नै बेला
हो, त्यति नै बेलाको वर्तमान कालका जीवित मानिसहरूले
तपाईंको नाम यदि
बोझपूर्वक लिए भने – जीवन पत्थर हो।

तपाईं भूतकाल बनिरहनु भएको बेला वर्तमान कालका जीवितहरूले
तपाईंको नाम यदि
बोझपूर्वक लिए भने – जीवन पत्थर हो।
उपेक्षापूर्वक लिए भने – जीवन पतझर हो।
घृणा पूर्वक लिए भने – जीवन कहर हो।
श्रद्धा पूर्वक लिए भने – जीवन अमर हो।

त्यसैले जिन्दगी साँच्चिकै यदि एउटा प्रश्न हो भने –
यसलाई मिट्ठो सँग बाँच्नु नै यसको सबै भन्दा सहि उत्तर हो।

  • महेश बाबु तिमल्सिना
प्रतिकृयाहरु
Loading...