प्रदेश १ सरकारद्वारा विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी शुरु

  • सुजाता लिम्बु

विराटनगर । काेभिड १९ महामारीका कारण ५ महिनादेखि विद्यालय बन्द छन् । यो समय शैक्षिक गतिविधि ठप्प छन् । लामो समयदेखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी शुरु गरेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्थानीय तहका प्रमुख/उपप्रमुख तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग परामर्श गरि विद्यालयमा सिकाई सञ्चालनको मार्गनिर्देशन तयार गर्न दिएको निर्देशन अनुसार मन्त्रालयको शैक्षिक महाशाखाले छलफल गरि सुझाव संकलन गरेको छ ।

मन्त्रालयले विद्यालयमा सिकाई सञ्चालनका लागि संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने मन्त्री घिमिरेले बताए । उनले भने, ‘मन्त्रालयले प्राप्त गरेको सुझाव अनुसार चाँडै बैठक बसेर निश्कर्षमा पुग्नेछाैँ ।’

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख/उपप्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन, अभिभावक संघसँग छलफल गरि संकलन गरेकाे सुझाव शिक्षा मन्त्रालय समक्ष पेश गरेको छ ।

मन्त्रालयले विद्यालयमा असोजदेखि सिकाई सञ्चालनको सुझाव दिएको छ । सिकाई सञ्चालन अघि भदौभित्रमा विद्यार्थीको अभिलेखीकरण गरिसक्नुपर्ने, विद्यालयमा रहेका क्वारेन्टाईन, आईसोलेसन सेन्टर र होल्डिङ सेन्टर हटाउनुपर्ने समेत सुझाव दिइएको छ ।

कक्षा सञ्चालन पुर्व विद्यालयमा निर्मलीकरण गर्नुपर्ने, लकडाउनका कारण घरमा रहेका र अहिले विभिन्न स्थानमा निषेधाज्ञा रहेकाले शिक्षकलाई विद्यालयसम्म पुग्नका लागि सहज वातावरण बनाईनुपर्ने पनि सामाजिक विकास मन्त्रालयले सुझाव दिएको छ । यस्तै सामाजिक विकास मन्त्रालयले बिहान र दिउँसो दुई चरणमा र  विद्यार्थीकाे राेलनम्बरका आधारमा जोर-विजोर कक्षा सञ्चालन गर्न सकिने सुझाव दिएकाे छ ।

स्थानीय तहमा प्रत्येक विद्यालयको शिक्षक सदस्य रहने गरि कोभिड टाक्स टिम तयार गर्ने र टिमको सुझाव अनुसार विद्यालय सञ्चालन गर्न सकिने सुझाव दिइएको छ । सामाजिक विकास मन्त्रालयले कक्षा ११ को आन्तरिक मूल्याकंन गरेर १२ कक्षा अविलम्व सञ्चालन गर्न पनि सुझाव दिएको छ ।

मन्त्रालयले विभिन्न क्षेत्रका व्यक्तिसँग गरेको छलफलमा निर्मलिकरण गरेर छिटो भन्दा छिटो विद्यालय सञ्चालन गर्नुपर्ने, कम विद्यार्थी भएका विद्यालयबाट पठन पाठन शुरु गर्नुपर्नेमा जोड दिएका दिएकाे छ ।

प्रदेश १ का १ सय ३५ विद्यालय र ६ वटा क्याम्पसमा अहिले पनि क्वारेन्टाईन रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार २ वटा विद्यालयमा होल्डिङ सेन्टर, ३ वटा विद्यालय र एउटा क्याम्पसमा आईसोलेसन केन्द्र सञ्चालनमा छन् । प्रदेश १ का ७ हजार १ सय ३७ विद्यालयमा करिब १२ लाख ४० हजार विद्यार्थी अध्ययनरत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *