सर्वसाधारणदेखि कलाकारसम्मकाे मागः ‘हामीलाई फेरि कुलमान चाहिन्छ’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि भदौ २९ गते सकिँदैछ । घिसिङको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि प्राधिकरणको निर्देशक बनाउनु पर्छ भन्दै सर्वसाधाराणदेखि कलाकारहरुले सामाजिक सञ्जालमा चर्को आवाज उठाउन थालेको छन् ।

देशमा भ्रष्टचार गर्नेहरुलाई पेरिफेरि उहि पद दिन मिल्छ भने देशलाई उज्यालो बनाउनेलाई किन मिल्दैन सरकार ? भन्दै बुलन्द आवाज उठेको छ । कुलमानलाई फेरि प्राधिकरणमा ल्याउनुपर्छ भन्दै कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘यो देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी-खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौँ । कुलमानको उर्जाले देशको उर्जा बढ्छ ।’

त्यस्तै सदाबाहार नायिका करिश्मा मानन्धरले पनि फेसबुकमा कुलमानसँगको फोटो सार्वजनिक गर्दै लेखेकी छन् –‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने मान्छे कमै हुन्छन् । कुलमान घिसिङ फेरि चाहिन्छ ।’

गायक शिव परियार लेख्छन् –‘म व्यक्तिगत रुपमा कुलमान घिसिङ्ले पुनः एकपटक विद्युत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु । अहिले मात्र हैन सधैँभरि देशलाई उज्यालो चाहिएको छ । अब, नेपाल सरकारको निर्णय कुरेको छु हेरौँ । आशा छ, उज्यालोप्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ ।’

हाँस्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले  पनि प्राधिकरणमा कुलमानकै माग गरेका छन् । उनले व्यंग्यात्मक ढंगले  लेखेका छन्- जसले अँध्याराे हटाउने, उही कुर्सीमा नअटाउने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *