निषेधाज्ञामा कडाइः बच्चालाई मास्क, आफूलाई खै ?

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । निषेधाज्ञाकाे उल्लंघन गरी विना काम नागरिकहरू बाहिर ननिस्किउन् र काेराेना संक्रमण नफैलियोस् भन्ने उद्देश्यले निषेधाज्ञामा कडाइ गरिएको हो ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड १९) संक्रमित दर बढ्दै गएपछि गएको बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले सो निर्णय गरेको थियो । उक्त निर्णय भदौ १० गते राति १२ बजेसम्म कायम हुनेछ ।

सोही निर्णय बमोजिम प्रहरीले अत्यावश्यक बाहेकका काममा सडकमा निस्कने सवारीलाई नियन्त्रणमा लिने काम जारी राखेको छ । आज मात्रै निषेधाज्ञा उल्लंघन गरी चलाइएका ४८० वटा सवारी साधन नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

लकडाउन उल्लंघन गरी सडकमा निस्कने मानिसलाई पनि प्रहरीले केहीबेर होल्ड गरी सम्झाएर पठाउने गरेको छ । मास्क नलगाइ हिँड्ने कतिपय नागरिकलाई भने एक सय रुपैयाँ जरिवाना गरी मास्क वितरण पनि गर्ने गरिएको छ ।

काठमाडाैंकाे घट्टेकुलाेमा पनि प्रहरीले कडाइ गरिरहेकाे छ । घट्टेकुलाे चाेकमा बच्चालाई मात्रै मास्क लगाइदिएर आफूले नलगाइ हिँड्ने अभिभावकलाई समेत प्रहरीले एक सय जरिवाना गराइ मास्क वितरण गरेकाे छ भने अनावश्यक बाहिर निस्किएकाहरूलाई केही समय होल्डमा राखी सुझाव दिएर छोडिएको छ ।

यसरी आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सयसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा उल्लेख छ ।

यस्तै सङ्क्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा रु १०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐनअन्तर्गत काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा रु ६०० सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । साेही ऐन बमाेजिम प्रहरीले कारवाही गर्न सक्छ ।

संक्रमित बढ्दै गएपछि देशका प्रभावित जिल्ला, नगरपालिकाहरू शिल गर्ने क्रम पनि बढिरहेकाे छ । काठमाडाैं उपत्यकामा १२४ सहित देशभर ७४३ जनामा संक्रमण पुष्टि भइसकेकाे छ भने हालसम्म १५७ संक्रमितकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =