कोरोना भाइरसले ल्यायो डिजिटल बैंकिङको उपयोगिता

काठमाडौं । कोरोनाको कारणले नगदको सट्टामा एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र मोबाइल वालेटलगायतका सेवा बैंक र उपाभोक्ताको प्राथमिकतामा परेको छ ।

कोरोनाको कारणले सकेसम्म एकले अर्कालाई छुन नहुने वा भिडभाड गर्न नहुने भनिएको छ । यस्तो समयमा बैंक र राष्ट्र बैंकले पनि सकेसम्म घरबाटै बैंकिङ सेवा लिन अनुरोध गरिरहेको छ ।

सबै बैंकले अहिले घरबाटै कारोबार गर्दा समस्या आएमा फोन गरेर सेवा लिनसक्ने व्यवस्था गरेका छन् । यसरी बैंकले सेवा दिँदा घरबाटै कारोबारमा केही समस्या आए तत्तकालै सेवा पाउने छन् ।

कोरोनाको सन्त्रासले उद्योग, व्यापार, व्यवसाय, पर्यटन क्षेत्र सबै पूर्ण रुपमा ठप्प जस्तै छन् । कोरोना कै कारण विश्वका अधिकांश मानिस घरमै बस्न बाध्य भएका छन् । कोरोनाको संक्रमण फैलिरहेको समयमा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले पनि घरबाट डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् । त्यस्तै, राष्ट्र बैंकले डिजिटल कारोबारमा छुट दिने व्यवस्थासमेत गरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले पनि आक्रामक रुपमा डिजिटल बैंकिङ सेवालाई अगाडि बढाइरहेका छन् । बैंकहरूले नगदको सट्टामा कारोबार गर्न सकिने गरी एटिएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र मोबाइल वालेटलगायतबाट बैंकिङ सेवा पनि उपलब्ध गराएका छन् ।

प्रविधिको प्रयोगले नै नेपालीले अत्याधुनिक बैंकिङ सेवाको अनुभव गरिरहेका छन् । सरसामान खरिद गर्दा भुक्तानी गर्न होस् वा घरायसी बिल भुक्तानी गर्न यी सुविधाका कारण सहज भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा सबै किसिमका खाता गरी ३ करोड १८ लाख ८५ हजार ७७९ खोलिएका छन् । यसरी खाता खोल्नेमध्ये १ करोड ६ लाख ७० हजार ७२ जनाले मोबाइल बैंकिङ सेवा लिएका छन् । ९ लाख ९२ हजार ७ सय २४ जनाले इन्टरनेट बैंकिङ सुविधा लिइरहेका छन् । करिब ७ लाख डेबिट, क्रेडिट र प्रिपेड कार्ड जारी भएका छन् । कोरोनाको कारणले ग्राहकमा पनि प्रविधि प्रयोग गरेर बैंकिङ सुविधा लिने क्रम बढेको छ ।

नेपालमा औषतमा एउटा नोट छाप्न करिब दुई रुपैयाँसम्म लागत लाग्ने गरेको छ । धेरै चलनचल्तीमा हुने नोटको आयु डेढ वर्ष र कम चल्तीको अधिकतम तीन वर्षसम्मको रहने गरेको छ । डिजिटल बैंकिङ वृृद्धि हुँदै जाँदा नोट छाप्ने खर्च पनि कम हुँदै जान्छ ।

नेपाल राष्ट्र बैंकको प्रवक्ता गुणाकर भट्टले सकेसम्म एटिएम, डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र मोबाइल वालेटलगायतबाट नै सेवा लिन अनुरोध गरेका छन् । बैंकमा भिडभाड भएमा कोरोनाको संक्रमणको जोखिम हुने भएकोले सबैले प्रविधिको प्रयोग गरेर कारोबार गर्दा सुरक्षित हुने भट्ट बताउँछन् ।

बैंकर्स संघको अध्यक्ष भुवन दाहालले पनि प्रविधिको प्रयोग गरेर सकेसम्म घरबाटै कारोबार गर्न आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *