वीपीमा हिजो प्लाज्मा थेरापी गरिएका वृद्धको निधन, धरानमा मृतकको संख्या दुई पुग्यो

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।

धरान १५ निवास ६७ बर्षीय वृद्धको आज मध्याह्न सवा १२ बजे  निधन भएको हो । मृतकको स्वास्थ्य अवस्था सुधार गर्न हिजो प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिए पनि उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि ज्यान बचाउन नसकेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार मृतक ती बृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वासप्रश्वास समस्या र ज्वरो आएको थियो भने मृतकलाई उच्च रक्तचापको दीर्घकालीन रोग पनि थियो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारीअनुसार मृतकको साउन २७ गते पीसीआर पोजेटिभ रिपोर्ट आएको थियो भने उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।

उनी वीपीमा प्लाज्मा थेरापी गरिने दोस्रो संक्रमित थिए भने उनीभन्दा अघि प्लाज्मा थेरापी गरिएका व्यक्तिको पनि स्वास्थ्य सुधार भइरहेको बताइएको छ । प्रतिष्ठानमा यसअघि पनि धरान १५ की कोरोना पोजेटिभ एक वृद्धाको पनि मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *