उपत्यकामा निषेधाज्ञाको पहिलो दिनः २३५९ व्यक्ति र २९०२ सवारीसाधन कारबाहीमा

काठमाडौं । उपत्यकामा निषेधाज्ञाको उल्लंघन गर्ने २ हजार तीन सय ५९ जनालाई प्रहरीले कारबाही गरेको छ ।
प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट निषेधाज्ञाको उल्लंघन गर्ने २ हजार तीन सय ५९ जनालाई कारबाही गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआईजी विश्वराज पोखरेलले उनीहरूलाई कारबाही स्वरुप कम्तिमा पनि दुई घण्टा होल्ड गरी छाडिएको बताए । डिआईजी पोखरेलले भने,‘हामी आम नागरिकको स्वास्थ सुरक्षा गर्न र राज्यको नीति निर्देशन चुस्तदुरूस्त पालना गर्ने कुरामा कुनै कसर बाँकी राख्नेछैनौ समाजलाई स्वच्छ स्वस्थ राख्न सवै आम नागरिक सचेत बन्नु पर्छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले काठमाडौं जिल्लामा बिहान ५ बजे देखि १० बजे सम्ममा ६१४ जनामा पुरूष ४३७ र महिला ११४ जनालाई कारबाही गरिएको बताए ।
यता ललितपुर प्रहरी प्रमुख टेकबहादुर राईले जिल्लामा १२१० जना मध्ये ७२४ पुरूष र ४८६ महिला छन् भने भक्तपुरमा ५ सय ३५ जनालाई होल्ड गरी छाडिएको छ ।
त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २ हजार ९ सय २ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । तीन जिल्लाबाट नियन्त्रणमा लिइएका ६ सय ८ चार पाङग्रे, २२ सय ९४ दुई पाङग्रे सवारीसाधन रहेको महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए ।
नियन्त्रणमा लिएका सवै सवारीसाधन बिहान देखि बेलुका सम्म होल्ड गरि अब देखि सडकमा नआउन अनुरोध गरि सम्झाई बुझाई गरि छाडिएको ढकालको भनाई छ ।








