‘आमा कोरोनाले छेक्यो यो वर्ष, तीजमा आइनँ है !’

हुन त यो वर्ष मेरो कुनै चाडपर्व छैनन् । तरपनि मन भक्कानिएको छ, रोएको छ, आँशुको भेल बगेको छ । किन आउँछ होला यो चाडपर्व हाँसिरहेको, रमाइरहेको मनलाई एक्कासी भावबिह्वल बनाउन । अतित बल्झाउन । बिर्सन खोज्छु त्यो अतित तर, चाहेर पनि सक्तिन ।

सदाको जस्तै आज पनि बिहानै उठेँ,  फ्रेस भएँ । खाना खाएँ । अनि लागेँ जीवनलाई जुन जस्तै चम्किलाे बनाउने उद्देश्यतिरको यात्रामा । करिब एक घण्टाको हिँडाइपछि पुगेँ गन्तव्यमा । गन्तव्य अर्थात् संघर्षको मैदानमा मसँग जोडिएको मेरो अफिस जहाँ म आफ्नो उज्यालो भविष्य खोज्दैछु । सिक्दैछु । त्यहाँ पुग्दा कति साथीहरु आइसक्नु भएको थियो भने कोहि आउँदै हुनुहुन्थ्यो । साथीहरुसँग बिहानको एक झलक कुराकानीपछि सुरु भयो सदाको जस्तै काम । उही त हो जनतालाई सूसुचित गर्ने ।

आफ्नो कामको समय सकिएपछि सबै साथीभाईहरुसँग बिदा मागी हात हल्लाउँदै निस्किएँ आफ्नो कार्यकक्षबाट । उही बाटो उही समय, उही ठाउँ । कुमालेको चक्र जस्तै छ मेरो जीवन पनि । बिहान उठ्, खाना पकाऊ , खाऊ , अफिस जाऊ, अनि घर आऊ । एकोहोरो घुमिरहने जीवन देखेर कहिलेकाहीँ दिक्क पनि लाग्छ ।

अफिसबाट निस्किएको करिब एक घण्टापछि पुगेँ कोठामा । बाबु (भाइ) तरकारी काट्दै रहेछ । थाकेको थियो शरीर, लमतन्न बेडमा पल्टिएँ, आँखा चिम्लिएँ । बाबुले ड्रेस चेन्ज गरी फ्रेस भएर पल्टिनु भन्दै थियो । सुने नसुने झैँ गरेँ । केही बेरमा तरकारी पाकेछ क्यारे । बाबुले खाना ल्याएर बेड नजिकै राख्दै भन्यो–‘खाना खानु अनि सुत्नु होला ।’

उसले खाना त्यहिँ राखिदियो । सायद उसले खाइ सकेछ क्यारे ! अलि रिसाए जस्तो गरेर ‘खाना खानु चिसो भैसक्यो’ भन्यो ।उठ्न मन नलागे पनि उठेर ड्रेस चेन्ज गरेँ । फ्रेस भएर खान मन नलागी नलागी खाँदै थिएँ । बाँच्न त खानैपर्छ । बाबु कराउँदै थियो । ‘छिटो खाना खानु कति खेलेको खाना खाँदा पनि ।’ म मोबाइलमा खै के हेरेर टोलाउँदै थिएँ । साँच्चिकै उसले मलाई सानो बच्चाबच्चीलाई जस्तै गाइड गर्छ ।

खाना खाईसकेपछि बेडमा पल्टिँदै मोबाइल चलाउँदै थिएँ । कहाँबाट मोबाइलमा अन्जु पन्तको आवाजमा रहेको गीत बज्न थाल्यो । ‘आमाले नदुखाउनु मन’ । खाना खाएर बेडमा पल्टिने बेलासम्म खासै बेखुशी नरहेकी म एक्कासी त्यो गीत बज्दा भने विच्छिप्त भएँ । आमालाई, गाउँघरलाई अनि त्यहाँका दिदीबहिनी सबै मिलेर मनाउने तीन सम्झन पुगेँ । मन रुँदै दौडियो जन्म घरतिर र बल्झिन थाल्यो त्यो अतित !

सानै थियाैँ क्यारे हामी । घरमा आमा, भाई, बहिनी र म मात्र थियाैँ । अरु दिदीहरुको बिहे भइसकेकाे थियो । जब तीज नजिकिन्थ्यो नयाँ लुगा किन्थ्याैँ । मनमा एक किसिमको खुशी र उमङ्ग हुन्थ्यो । राती छिमेकिको घरतिर नाचगान गर्थे । गाउँका दिदीबहिनी, आमा, हजुरआमा, माइजू, आन्टी र साथीहरुसँग रमाईलो हेर्न जान्थ्याैँ । घरघरमा ‘तीजको रहर आयो बरिलै’ घन्किन्थ्यो । बाटोमा हिँड्दै गर्दा उहाँहरु ठट्यौली गर्नुहुन्थ्यो । सबै एकै साथ गलल हास्थ्याैँ । साँझको रमाइलोबाट मध्येरात घर फर्कियो । अनि बिहान उठेर वस्तुभाउलाई घाँस काट्यो । खाना खायो, अनि लाग्यो स्कुल ।

राजधानीमा संघर्ष गर्दा तीजका यादहरु बढि झल्झल्ती आए । हरेक तीज हाम्रा घरमा हाँसखेल गर्दै आउँथ्यो । परिवार एकत्रित हुन्थ्यौँ, जब दर खाने दिन हुन्थ्यो हामीहरुमा दिदी लिन जानको लागि झगडा पर्थ्याे । ‘यो वर्ष दिदिलाई जान दे अर्का वर्ष तँ जालास्’, आमाले त्यसो भन्दा मेरो खुशीले भुँईमा खुट्टा हुन्थेन ।

हुन त हाम्रो संस्कारमा दिदी लिन भाई जानुपर्छ । तर, म भने बहिनी पनि भाई नै हो, गए पनि दिदीलाई लिएर त आउने हो भन्थेँ । उता दिदी तयार भएर बस्नु भएको हुन्थ्यो । अनि दिदीको घर पुगेर दिदी (नानी बाबु) छोराछोरी लिएर आउथ्यौँ । माथिबाट दिदी आएको देखेर आमा घरबाट घर नपुगुन्जेल हेरिरहनु हुन्थ्यो । वर्ष दिनमा दिदी माइत आउँदा खुशीयाली छाउँथ्यो । तिजको लागि भनेर ६ दिनसम्मलाई गोरु बाख्रालाई घास काटेर राख्थ्यौँ । मिठो मिठो खाने कुरा बनायो । खायो, खुवायो ।

दर खाने दिनदेखि पञ्चमीको बेलुकासम्म केही काम गरिँदैन । ‘काम त अरु दिन गरेपनि हुन्छ । फेरि यो दिन आउन एक वर्ष कुर्नुपर्छ’ भन्दै अडान लिएरै बसिन्थ्यो । नयाँ लुगा लगायो, रमाईलो हेर्न गयो । ती नयाँ लुगा लगाउँदा आफु जस्तो राम्रो कोहि छैन भन्ने लाग्थ्यो । सबैले मलाई नै हेरेको छ, भन्ने भान हुन्थ्यो । आज कहाँ गए त्यो रमाईलो, कहाँ गए ती साथीसंगी, फेरी कहिले आउँलान् ती दिन र ती पलहरु । नोष्टाल्जिक हुन्छु ।

यत्तिकैमा अर्को गीत बजेछ । देवी घर्तीको आवाजमा रहेको –‘हे मेरि आमा’ अतितबाट बाहिर आएँ । भाइले यस्ता रोनाधोनाका गीत नसुन्नु भन्यो तर मलाई गीत बन्द गर्न मन लागेन । भाइ सुत्यो । म पनि आफ्नो बेडमा पल्टिएँ । तर, मेरा आँखामा निन्द्रादेवी आउन सकिनन् । मध्यरातमा निद्रादेवी आइपुगिन् ।

अरुबेला बिहानै उठ्ने म आज ७ बजेपछि मात्र बिउँझिएँ । बाबू सुतेको थियो । उठाएँ । सायद मेरो अनुहार मलिन थियो होला उसले सोध्यो ‘के भयो ?’ मलाई के बोलम् के भनम् भयो । ‘भोलि त दर खाने दिन रहेछ नि !’ उसले भन्यो–‘के भयो त हामी पनि दर खाने हो र ?’

किनकि हजुरआमा बितेको ६ महिना मात्र भएको थियो, यो वर्ष चाडवाड मनाउन हुँदैन । त्यसैले होला बाबुले ‘हामी पनि खिर खाने होर ?’ भनेको । हुन त अंङ्कलहरुले अस्ति नै घरमा खसी काटेर खाए रे । मन न हो । कसैको दरो हुन्छ, कसैको कमलो । मलाई हजुरआमाको याद आइरहेको थियो । घर जान पाए हुन्थ्यो जस्तो भइरहेको थियो । तर, यसपटक कोरोना भाइरस मेरो घर जाने बाटोमा तगारो बनेर आइदिएको छ । लकडाउनले राजधानीमा मुस्किलले निस्कन पाइन्छ । त्यो पनि कार्यालयले बनाइदिएको पास लिएर । निषेधाज्ञाले साँझ बिहान तरकारी किन्न पनि गाह्रो छ । यस्तोमा घर जान सक्ने अवस्था छैन ।

तीज हामी महिला दिदीबहिनीहरुको लागि ठूलो चाड हो । नसम्झु भन्दापनि आइहाल्ने । यहाँपनि म एक्लै छैन, भाइ छ भनेर मन बुझाउन खोज्छु तर, सकिनँ । तीजका गीतहरुसँगै मन बहकिरहेको थियो । आमाको त्यो न्यानो काख मिठो दरको यादले मनभरी पौडी खेलेको छ । गाउँका कुना कन्दरा डाँडापाखा, उकालीओराली, खोलानाला, झरनामा दौडिइरहेको छ । मेरो हरेक वर्षको चाडपर्वमा यसैगरी मन रुन्छ । धेरै वर्ष भयो मैले तीज मात्र हाेइन अरु चाडवाड पनि आफ्ना घरमा मनाउन नपाएको । त्यहि भएर चाडवाड भन्ने बित्तिकै एक प्रकारको आत्मियता जाग्छ । गाउँघरको यादले फत्रक्कै पार्छ ।

हरेक तीजमा आमाले बोलाउनु हुन्छ । ‘नानी दिदीहरु आउँछन्, एक्लै के बस्छेस् ? आइज् ।’ सदावर्ष जस्तै मेरो जवाफ हुन्छ–‘आमा म त्यहाँ नभएर के भो र, तपाईँहरु मेरो मनमा हुनुहुन्छ । मिठो अतित छ । फेरी म यहाँ कहाँ एक्लो छु र, म जस्ता हज्जारौँ नारीहरु पनि छन् यहाँ । भाई पनि साथमा छ । यसपल्ट कोरोनाले आउन दिएन अर्कोपल्ट अवश्य आउँछु ।’

तर, हामी कसलाई थाहा अर्को वर्ष तीजमा घरजान पाइएला, नपाइएला ! कसलाई थाहा कोरोना अर्को वर्षसम्म समाप्त होला नहोला ! आमा, ‘छोरी आइन’ भनेर नदुखाउनु है मन  ! नमरी बाँचे, कालले साँचे अर्को वर्ष सखारै आइपुगुँला । चुरापोते, धागो, टिका ल्याइदिउँला । दिदी लिन जाउँला । दर पकाउँला अनि रातभरी नाचाैँला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *