बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोएमन !

एजेन्सी । बार्सिलोनाले नेदरल्याण्ड्सका रोनाल्ड कोएमनलाई नयाँ प्रशिक्षकमा अनुबन्ध गर्ने भएको छ ।

स्पेनिस जायन्ट बार्सिलोनाले क्लबका पूर्व खेलाडी समेत रहेका कोएमनलाई प्रशिक्षकमा अनुबन्ध गर्ने निर्णय गरेको क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउले बताएका छन् ।

मंगलबार राति बोल्दै बार्तामेउले कोएमनलाई प्रशिक्षकमा रुपमा चयन गरेको बताए । ‘कोएमनलाई हामीले छानेका छौँ । यदि केही नराम्रो नभए उनी अर्को सिजनका लागि मुख्य प्रशिक्षक बन्नेछन् ।’ उनले भने ।

नेदरल्याण्ड्स र बार्सिलोनाको पूर्व डिफेण्डर बार्सिलोनासँग सम्झौता पक्का गर्न हिजो मंगलबार बार्सिलोना पुगेका छन् ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार र यस सिजन उपाधि विहीन भएपछि बार्सिलोनाले टिममा धेरै परिवर्तन गर्दैछ ।

यसअघि मुख्य प्रशिक्षक के सेटिएनलाई क्लबले बर्खास्त गरिसकेकामा स्पोर्टिङ डिरेक्टर एरिक अबिदालसँग पनि क्लबले सम्झौता तोडेको छ ।

अब बार्सा टिममा पनि धेरै परिवर्तन हुने अध्यक्ष बार्तामेउले बताइसकेका छन् । कप्तान लिओनल मेसीले क्लब छाड्ने हल्ला चलिरहेको बेला बार्तामेउले मेसीले बार्सिलोनामै करियर अन्त्य गर्न चाहेको बताउँदै आएका छन् । तथापि, क्लबले अब कस्ता खेलाडी भित्र्याउँछ त्यसबाट मेस्सी क्लबमा रहने नरहने तय हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *