मुख्यमन्त्री सहित एक दर्जन मन्त्री फेरिँदै, आकांक्षी धाउन थाले शक्ति केन्द्र

काठमाडौं । नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठनको चर्चा शुरु भएको छ । ६ सदस्यीय नेकपा कार्यदल गठन भएपछि मुख्यमन्त्रीसहित एक दर्जन मन्त्री फेर्ने तयारीको बहस शुरु भएको हो ।

नेकपाभित्रको विवाद व्यवस्थापनका लागि मन्त्रिमण्डल पुनर्गठनको कार्य अघि बढेको छ । पछिल्लो समय सरकारले अपेक्षा गरेअनुसार काम गर्न नसकाले भन्दै नेकपामा केही नेताहरु असन्तुष्ट छन् । यसभन्दा अघि पनि नेकपाको विवाद साम्य पार्न मन्त्रिमण्डल पुनर्गठन भएको थियो ।

को को छन् मन्त्रीको दौडमा ?

मन्त्रिमण्डल पुनर्गठन हुने भएपछि मन्त्रीका आकांक्षीहरु शिर्ष नेतासँग लबिङ्ग शुरु गरेका छन् । नयाँ मन्त्रीमा दौडामा सुरेन्द्र पाण्डे, महेश बस्नेत, भिम रावल, यज्ञराज सुनुवार, जनार्दन शर्मा, टोप बहादुर रायमाझी, गणेश पहाडी, देवेन्द्र पौडेल, पम्फा भुषाल, कृष्णप्रसाद दाहाल र कल्याणी खड्का मन्त्रीको दौडमा रहेका छन् । कृष्णप्रसाद दाहाल र कल्याणी खड्का संसदीय समितिबाट मन्त्री बन्ने चर्चामा छन् ।

को को हुन हट्ने मन्त्री ?

स्रोतका अनुसार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री वर्षमान पुन, श्रममन्त्री ज्ञरामेश्वर राय यादव, वनमन्त्री शक्ति बस्नेत, खेलकुदमन्त्री जगत विश्वकर्मा, उद्योगमन्त्री लेखराज भट्ट र गरिबी निवारणमन्त्री पद्मा अर्याल पनि घर फर्कने मन्त्रीहरुको सूचीमा छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीबाट विदा हुँदैछन् । नेकपाभित्र मन्त्री डा. खतिवडाको कारणले पनि बेला बेला विवाद हुने गरेको छ । केही समय अघि खतिवडाले राजीनामा दिने चाहना राखेको स्रोतले बताएको छ । तर समय बाँकी रहुञ्जेलसम्म काम गर्ने छन् । डा. खतिवडाको कार्यकाल भदौ २० गते सकिँदैछ । डा. खतिवडालाई नै निरन्तरता दिने हो भने राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुपर्छ । यस अघि राष्ट्रिय सभामा पनि डा. खतिवडा कि बामदेव गौतम भन्ने विवादले नेकपामा ठूलो विवाद मच्चाएको थियो ।

कुन कुन प्रदेशको फेरिँदै छन् मुख्यमन्त्री ?

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र प्रदेश न. एक मुख्यमन्त्री शेरधन राई पनि मुख्यमन्त्रीबाट विदा हँुदैछन् । बागमती प्रदेशका मुख्यमन्त्रीले एक कार्यक्रममा नै आफ्नै पार्टीका संसदहरु मुख्यमन्त्रीबाट हटाउन लागि परेका बताएका थिए । केही प्रदेशको मन्त्रिमण्डल पनि पुनर्गठन हुनेछ ।

मुख्यमन्त्रीको भूमिकामा को को ?

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यको नाम चर्चामा छ । भने प्रदेश १ मा भिम आचार्यलाई बनाउने तयारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *