काव्यक्रमा कविता श्रृंखलाहरुको नतिजा सार्वजनिक, इप्शिता र किरण प्रथम

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत परिक्रमा विद्यार्थी परिवारले आयोजना गरेको साहित्यिक कार्यक्रम ‘काव्यक्रमा’ भव्यताका साथ सम्पन्न भएको छ । साउन ७ गतेदेखि सुरू भएको उक्त कार्यक्रममा देशभरका मेडिकल कलेजमा स्नातक तहमा अध्ययनरत तथा अन्य देशमा चिकित्साशास्त्र पढिरहेका नेपाली विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

मेडिकल विद्यार्थीका साहित्यिक मोहलाई उजागर गर्ने उद्देश्यले आयोजित काव्यक्रमामा नेपाली विधाका निर्णायकका रूपमा साहित्यकार इन्दिरा प्रसाईँ र कवि मनु मन्जिल रहेका थिए भने अङ्ग्रेजी विधाका कवितालाई प्रा.डा. अभि सुवेदी र साहित्यकार तथा समालोचक महेश पौड्यालले मूल्याङ्कन गरेका थिए ।

स्याटसम र नेपालयको प्रायोजनमा सञ्चालित उक्त कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । नेपाली र अङ्ग्रेजी दुवै विधा गरि पहिलो चरणमा प्राप्त भएका करिबन १०० कवितामध्येबाट निर्णायक मण्डलले दुवै विधाका उत्कृष्ट १० कविताको छनोट गरेका थिए ।

त्यसरी दोस्रो चरणमा प्रवेश पाएका २० प्रतियोगीले आफ्नो सिर्जना वाचन गरेको भिडियो परिक्रमा विद्यार्थी परिवारको आधिकारिक यूट्यूब च्यानलमा राखिएको थियो । सोही भिडियोको आधारमा निर्णायक मण्डलले दुवै विधाका उत्कृष्ट ३ प्रतियोगीको छनोट गरेका थिए । त्यसका अतिरिक्त यूट्यूबमा अत्याधिक हेरिएको र रूचाइएको दुवै विधामध्येका भिडियोलाई पिपल्स च्वाइस अवार्ड समेतको व्यवस्था गरिएको थियो ।

गत साउन ३१ गते सार्वजनिक गरिएको नतिजामा अङ्ग्रेजी विधा अन्तर्गत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत इप्शिता पुर्कायस्था, नेपालगञ्ज मेडिकल कलेजमा अध्ययनरत शुभा भट्टराई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अध्ययनरत रिवाज अधिकारीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान ओगट्न सफल भएका छन् ।

त्यस्तै नेपाली विधा अन्तर्गत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका किरण चन्द्र पुन, गण्डकी मेडिकल कलेजकी कविता न्याैपाने र विराट मेडिकल कलेजका सनम ढकालले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गरेका छन् । शुभा भट्टराई र सनम ढकालले अङ्ग्रेजी र नेपाली विधामा पिपल्स च्वाइस अवार्ड समेत आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।

कार्यक्रममा दुवै विधाका विजेताले दुई हजार नगदसहित साहित्यिक पुस्तकहरू पाएका छन् भने द्वितीय र तृतीय स्थान हाँसिल गरेका प्रतियोगीले साहित्यिक पुस्तकहरू साथै क्रमश एक हजार पाँच सय र एक हजार नगद प्राप्त गरेका छन् । पिपल्स च्वाइस अवार्डका विजेतालाई भने ३ महिनाको अनलाइन स्किल सेयरको सब्स्क्रिप्सन प्रदान गरिएको छ ।

साथै, दोस्रो चरणमा प्रवेश पाएका सबै प्रतियोगीलाई प्रमाणपत्र दिइएको कुरा परिक्रमा परिवारले जानकारी गराएको छ ।
काव्यक्रमामा सहभागी प्रत्येक स्रष्टाको साहित्यिक रूचि अभिवृद्धि गर्नका लागि नेपाली विधाका सम्पूर्ण प्रतियोगीलाई नइ प्रकाशनले केही पुस्तकहरू उपहार स्वरूप दिने निर्णय समेत गरेको छ ।

यस कार्यक्रमको टाइटल स्पोन्सर नेपालको सर्वाधिक ठूलो ई लर्निङ्ग परिवार स्याटसमले गरेको छ, स्याटसममा ६ हजार भन्दा बढि प्लस २ विज्ञान, एमबिबिएस तयारी, इन्जिनियिरिङ्ग तयारी अनि नर्सिङ्ग लाइसेन्सका साथै ब्रिज कोर्सका विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *