लण्डनको डाक्टर हुँ भन्दै युवतीसँग विवाह गर्छु भनि ठगी गर्ने एक विदेशी नागरिक पक्राउ

काठमाडाैं । अनलाइन ठगी तथा नक्कली मुद्राको कारोबार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
राहदानी नम्बर एन ११७९७०१ वाहक रिपब्लिका दे अंगोलाका नागरिक ४८ वर्षीय सिल्वा एन्टोनियो दा कोस्टालाई काठमाडौंबाट शुक्रबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हाे ।
पीडित युवतीले प्रयोग गर्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा कोस्टाले आफूलाई मार्की आरोन नामले चिनाई आफू ‘लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर हो, नेपाल आएर तपाईँलाई विवाह गर्छु’ भनि ठगी गरेकाे प्रहरीकाे आरोप छ ।
उनले नयाँ वर्षको अवसरमा हिराको औंठी, घडी, सुनको सिक्री र २ लाख ३० हजार पाउण्ड समेत पठाएको भन्दै प्रलोभनमा पारी सामानको भन्सार छुटाउन र एक्सचेन्ज चार्ज बुझाउन रकम आवश्यक पर्यो भनेर पटक पटक गरी ४८ लाख ५४ हजार ४ सय २० रुपैयाँ लिई ठगी गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे छ ।
कोस्टा बसेको ठमेलस्थित होटलको कोठा तलासी गर्दा नेपाली ३ लाख १५ हजार ७ सय ४५ रुपैयाँ, ९ सय अमेरिकी डलर, एटीएम कार्डहरू, पाउडरको वट्टाहरू, १ थान ल्यापटप, नक्कली जस्तो देखिने १ हजार दरका नेपाली ३ थान नोटहरू तथा विभिन्न देशका मुद्रा, नोट आकारको कालो कागजको बण्डल, विभिन्न केमिकलहरू, टेप, पेपर कटर लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा कोस्टाले शुक्रबार अर्की युवतीबाट पनि ३७ हजार रुपैयाँ नगद ठगी गरेको खुल्न आएको थियो । कोस्टा २०७६ फागुन २४ गते नेपाल आएको अनुसन्धानको क्रममा खुल्न आएको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात ठगी र खोटा मुद्रा बनाउन नहुने कसूर समेतमा थप अनुसन्धानको लागि बरामद गरिएका सामानसहित कोस्टालाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएकोमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।








