धोनी र रैनाले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ सामाजिक सञ्जालमार्फत एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले भनेका छन्- ‘धन्यवाद, मेरो क्यारियरमा धेरै धेरै माया र समर्थनका लागि धन्यवाद, ७ बजेर २९ मिनेटदेखि मलाई रिटायर्डको रुपमा लिइयोस् ।’

धोनी गतबर्षको विश्वकप क्रिकेट देखि अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका थिए । धोनी भारतीय क्रिकेटमा एकदिवसीय क्रिकेट विश्व कप, टी-२० क्रिकेट विश्वकप र टेस्टको वरियतामा भारतलाई नम्बर एक टिम बनाउने एक मात्र कप्तान हुन् ।

धोनीले भारतका लागि ९० टेस्ट खेल्दै १४४ इनिंगमा ३८.०९ को औसतले ६ शतक र ३३ अर्धशतकसहित ३ हजार ८७६ रन बनाएका छन् । त्यस्तै एकदिवसीय खेलमा ३५० खेल खेल्दै १० शतक र ७३ अर्धशतकसहित ५०.५७ को औसतले १० हाजर ७७३ रन बनाएका छन् । त्यस्तै टी-२० खेलमा ९८ खेल खेल्दै २ अर्धशतकसहित १६१७ रन बनाएका छन् ।

धोनीसँगै भारतीय क्रिकेटका ब्याट्सम्यान सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । इन्स्टाग्राममा उनले धोनीसँग खेल्नु आफ्नो खेल जीवनको सुःखद पक्ष रहेको उल्लेख गर्दै उनीसँगै खेलबाट सन्यास लिन पाउँदा आफूलाई गौरव महसुस भएको बताएका छन् ।

उनले सबै समर्थकलाई पनि धन्यवाद पनि दिएका छन् । रैना २०१८ देखि भारतीय टिमबाट बाहिर रहेका छन् । रैनाले भारतका लागि २२६ एकदिवसीय खेल खेल्दै ५ हजार ६१५ रन बनाएका छन् । त्यस्तै १८ टेस्ट खेल खेल्दै ७६८ रन बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 14 =