स्थानीय आफैँले मर्मत गरे ४ किलोमिटर गोरेटो बाटो

बागलुङ । गलकोट नगरपालिका ७ मल्म दाग्दीखोलादेखि वडा नम्बर ११ रिघा गोठलाङ सम्मको गोरेटो बाटो मर्मत सम्भार गरिएको छ । भर्‍याङ सामुदायिक वन उपभोक्ता समूह गलकोट नगरपालिका ७, १० र ११ का उपभोक्ताहरूको जनश्रमदान मार्फत झण्डै ४ किलोमिटर गोरेटो बाटो मर्मत सम्भार गरिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञान बहादुर कार्कीले जानकारी दिए।

भर्‍याङ सामुदायिक वनको सक्रियतामा प्रत्येक वर्ष हरितालिका तीजको पूर्व सन्ध्यामा उक्त गोरेटो बाटो मर्मत सम्भार गरिँदै आएको सामुदायिक वन उपभोक्ता समितिका सचिव छममाया पुन काउचाले जानकारी दिए ।

साबिकको पाण्डवखानी, रिघा र मल्म गाविसका विभिन्न वडाबाट गरी ४५ जना स्थानीयको सक्रियतामा उक्त कार्य सम्पन्न गरिएको सचिव काउचाले बताए । बर्खायामसँगैको निरन्तरको वर्षाले गोरेटो बाटोको ठाउँ ठाउँमा बनेका खाल्डा खुल्डी मर्मत सँगै झाडी समेत सफाई गरिएको बताइएको छ ।

गोरेटो बाटो मर्मत गरेसँगै साबिकका ३ गाविस रिघा, पाण्डवखानी र मल्मका स्थानीय बासिन्दालाई पैदल यात्रा गर्न सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =