च्याम्पियन्स लिगः मेस्सी र लेवान्डोस्की कसले मार्लान् बाजी ? 

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटवल अन्र्तगत आज राती स्पेनिस बार्सिलोना र जर्मन क्लब बार्यन म्युनिख आमने सामने हुँदैछन् । लिगको क्वाटरफाइनलमा बार्सिलोना र बार्यनको भिडन्त सर्वाधिक प्रतिक्षित खेल हो । आज राती १२ः४५ बजे हुने बार्सा र बार्यनको भिडन्तमा मेस्सी र लेवान्डोस्की विचको प्रतिष्पर्धा सर्वाधिक प्रतिक्षाको विषय हो ।

सिजनकै उत्कृष्ट फुटवल पस्किइरहेको बार्यनलाई यस पटक च्याम्पियन्स लिगको प्रमुख हकदारका रुपमा हेरिएको छ ।

बार्यनका प्रमुख खेलाडी रोवर्ट लेवान्डोस्की उत्कृष्ट लयमा रहेकाले आजको खेलमा उनले बार्सिलोनाका मेस्सीलाई राम्रै टक्कर दिने अपेक्षा गरीएको छ । जारी सिजनमा उनले ४४ खेलमा ५३ गोल गरेका छन् ।

यता मेस्सीले ४३ खेलमा ३१ गोल र २६ एसिस्ट गरिसकेका छन् । जारी सिजनबाट बार्सिलोना लिग जित्दै सिजनको पहिलो उपाधि जित्न चाहन्छ । तर, बार्सिलोनाको यो सिजन उतार चढाव छ । स्पेनिस ला लिगामा कोरोना संक्रमण पछि शुरु भएको खेलमा बार्सिलोनाको प्रदर्शन निराशाजनक थियो ।

पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले अहिलेसम्म ३० पटक च्याम्पियन्स लिगमा भाग लिइसकेको छ । जसमा १८ पटक क्वार्टरफाइनलमा पुगेको छ । यता जर्मन क्लब बार्यनले २३ पटक च्याम्पियन्स लिगमा सहभागी हुँदा १८ पटक क्वार्टरफाइनल पुगेको छ । उसले पनि पाँच पटक लिग जितेको छ ।

बार्सिलोना च्याम्पियन्स लिगमा २००७–०८ (१३ सिजनयता) बाट लगातार क्वार्टरफाइनल पुग्ने टीम हो । मेस्सी संलग्न बार्सिलोनाले चार पल्ट च्याम्पियन्स लिग हात पारेको छ ।

बार्सिलोना र बायर्नको सन् २०१४–१५ सिजन यता पहिलो पटक आज प्रतिष्पर्धा हुँदैछ । पाँच वर्ष अघिको सेमीफाइनलमा बार्सिलोनाले बायर्नलाई हराएको थियो । तर, च्याम्पियन्स लिगको हेड–टू–हेडमा बायर्न अघि छ । बायर्नले बार्सिलोनाविरुद्ध आठ खेलमा पाँच पटक जित निकालेको छ । बाँकी दुई खेल बार्सिलोनाले जितेको छ भने एक खेल बराबरी भएको छ ।

आजको खेलमा जित निकाल्दै बार्सिलोना लगातार दोस्रो पटक लिगको सेमीफाइनलमा पुग्न चाहन्छ । बार्सा सन् २००७–०८ देखि २०१२–१३ मा लगातार ६ पटक सेमीफाइनलमा पुग्ने टीम हो ।

बार्सिलोनाले लिगको दोस्रो खेलमा नापोलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । समग्रमा ४–२ को नतिजा सहित बार्सा क्वाटर फाइनलमा प्रवेश गरेको हो । यता बार्यन भने दोस्रो लेगमा चेल्सीलाई ४–१ ले पराजित गरेको थियो ।

बार्सिलोनाले सन् २००९ मा एकै सिजन सर्वाधिक ६ वटा उपाधि जितेर किर्तिमान बनाएको थियो ।

पोर्चुगलको राजधानी लिस्बनको स्टेडियो डा लुजमा हुने खेल नेपाली फुटवल प्रेमीहरुका लागि प्रतिक्षाको खेल हो । नेपालमा बार्सिलोनाका फ्यानहरु धेरै छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *