अब कोरोनाको रिपोर्ट केही मिनेटमै, इजरायलले पत्ता लगायो नयाँ परीक्षण विधि

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएको बेला केही मिनेटमै कोरोना भाइरस (काेभिड १९) संक्रमण पत्ता लगाउने नयाँ परीक्षण विधिको विकास भएको छ । सो कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ ।

इजरायलको सेबा मेडिकल सेन्टरको सेन्टर फर जियोग्राफिक मेडिसिन एण्ड ट्रपिकल डिजिजले नयाँ र सजिलो परीक्षण विधिको विकास गरेको बताएको छ । नयाँ परीक्षण विधि अनुसार बिरामी व्यक्तिले नुन पानीले मुख सफा गरेर एउटा भाँडामा थुक्नु पर्दछ । त्यसलाई एउटा स्पेक्ट्रल डिभाईसमा राखेर उक्त नमुनामा केही लाईटको प्रयोग गरेर परीक्षण गरिन्छ ।

नयाँ विधिको परीक्षणमा नेतृत्व गरेका एलि स्कवार्टजका अनुसार कोभिड १९ को परीक्षणको लागि प्रयोग हुने पिसिआर स्वाब परीक्षण भन्दा धेरै नै सजिलो रहेको छ । ‘हालसम्म हाम्रो परीक्षणको नतिजा निकै आशालाग्दो छ र यो निकै सजिलो र सस्तो विधि रहनेछ,’ स्कवार्टजका भनाइ रहेको छ ।

नयाँ विधिको सुरुवातीमा किल्निकल परीक्षणमा ९५ प्रतिशत सफल नतिजा प्राप्त गरेको पाइएको छ । जेरुसेलम हेबु्र युनिभर्सिटीका विज्ञ आणविक भाईरोलेजिष्ट एमोस प्यानेटले उक्त विधिमा अन्तिम निर्णय गर्नुअघि परीक्षणको थप धेरै डाटा र तुलनाहरु हेर्न चाहेको बताएका छन् ।

नयाँ विधिलाई बजारमा ल्याउन चाहिने उपकरण बनाउन ईजरायली फर्म न्युसाईट ईमेजिङसँग सहकार्य गरेको छ ।
कम्पनीका अनुसार उनीहरु नियामकको स्विकृति लिने तयारीमा छन् । एउटा परीक्षण मात्र ०.०१ डलर र मेसिनको मात्र २०० डलर खर्च लाग्नेछ । यसको नतिजाको लागि धेरैमा ३० मिनेटसम्म मात्रै लाग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *