संक्रमणको जोखिम उच्च हुँदै गएपछि भरतपुरमा निषेधाज्ञा

चितवन । कोरोना भाइरस (काेभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि भरतपुर महानगरपालिका क्षेत्रभित्र शनिबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

शुक्रबार भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवनसहित जिल्लाका सरोकारवाला निकायबीच भएको छलफलबाट भरतपुर महानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको हाे ।

निषेधाज्ञा कहिलेसम्म जारी गर्ने भन्ने विषयमा संक्रमणको जोखिमलाई हेरेर निर्णय गर्न सकिने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

निषेधाज्ञा जारी भएपछि शनिबारदेखि निषेधाज्ञा खुला नभएसम्म भरतपुर महानगरपालिकाभित्र चल्ने सबै सार्वजनिक यातायातका साधन पुनः बन्द हुनेछन् । उद्योग तथा कलकारखाना सञ्चालनमा पनि भित्र बाहिर गर्न नपाइने गरी चलाउन पाइने छलफलले निर्णय गरेको प्रजिअ भट्टराईले बताए । ‘कलकारखाना चलाउनेहरूले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर भित्रै बस्ने गरेर मात्रै चलाउन पाइनेछ,’ उनले भने, ‘अन्यथा बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ।’  निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार साँझ सूचना जारी गर्दै साइकलमा व्यापार गर्न तथा कवाडी संकलनसमेत नपाइने बताएको थियो । शनिबारदेखि निषेधाज्ञा नै जारी हुने भएपछि घरबाहिर कोही पनि निस्कने छैनन् । संक्रमणको जोखिम उच्च भएकै कारण निषेधाज्ञा जारी गर्नुपरेकोले सुरक्षित साथ घरभित्रै बस्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ। बिनाकाम घरबाहिर निस्कन तथा भीडभाड हुने खालका गतिविधि नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =