पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती एटलान्टासँग भएको क्वाटरफाइनल खेलको अन्तिम समयमा २ गोल गरेपछि पीएसजी यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुधबार राती लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजीको जीतमा ब्राजिली नेइमार नायक भए । खेलमा पीएसजी २–१ ले विजयी हुँदा नेइमारले गोल नगरेपनि गोलको लागि असिस्ट भने गरे । मारियो पासालीचले एटलान्टालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर अन्तिममा ३ मिनेटको अन्तरमा मार्किन्हस र चुपो मोटीङले गोल गरेपछि पीएसजी विजयी भयो ।

खेलको तेस्रो मिनेटमा नै नेइमारले पीएसजीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फालेका थिए । मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाएका नेइमारले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टभन्दा निकै टाढाबाट बाहिरिएको थियो । ११ औं मिनेटमा कप्तान पापु गोमेजको क्रसमा हान्स हाटेबोरको हेडरलाई गोलरक्षक केलर नाभासले डाइभ दिँदै एक हातले बचाए ।

तस्विरः एजेन्सी

खेलको १९ औं मिनेटमा पीएसजीले काउन्टर अट्याकमा अगाडि बढाएको मुभमा नेइमारको पास माउरो इकार्डीले बुझ्न नसक्दा फ्रान्सेली टोलीले अग्रता लिने अर्को अवसर गुमायो । नेइमारले तीव्र गतिमा बल अगाडि बढाउने क्रममा डिफेन्स लाइन बिट गर्दै दिएको पासलाई इकार्डीले पेनाल्टी क्षेत्रभित्रै रहेपनि बलसम्म पुग्ने प्रयास गरेनन् ।

खेलको २६ औं मिनेटमा मारियो पासलीचको गोलमा एटलान्टाले अग्रता लियो । पीएसजीको डिफेन्सले सामान्य क्लियरेन्स गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका पासालिचले गोलरक्षक नाभासलाई उक्त प्रहार बचाउने कुनै अवसर दिएनन् । लगत्तै अर्कोतर्फ नेइमारले उत्कृष्ट मुभ बनाउँदै तीन डिफेन्डरलाई छलाएर पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।

३५ औं मिनेटमा नेइमारले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारलाई गोलरक्षक स्पोर्टिएल्लोले दोस्रो प्रयासमा बचाए । त्यसको दुई मिनेटपछि नै नेइमारको फ्रिकिकमा रिबाउन्ड आएको बललाई सराबियाले क्रस गरेपनि गोलरक्षक स्पोर्टिएल्लो बाधक बने । ४१ औं मिनेटमा सराबियाकै क्रसमा इकार्डी बलसम्म पुग्न सकेनन् । त्यसको एक मिनेट नबित्दै हाटेबोरले दिएको ब्याकपास नेइमारले पेनाल्टी क्षेत्रभित्र भेटेपनि गोलरक्षक मात्र भएको अवस्थामा उनको प्रहार आकासियो ।

पहिलो हाफमा १–० ले पछि परेको पीएसजीले दोस्रो हाफको सुरुवातदेखि नै आफ्नो लय समात्यो । लगातार बलमा पकड बनाएपनि दोस्रो हाफमा गोल गर्ने पहिलो अवसर भने एटलान्टाले नै पाएको थियो । ५८ औं मिनेटमा फ्रिकिकमा रिबाउन्ड आएको बललाई जिम्सितीले पोस्टको दिशा दिन सकेनन् ।

एजेन्सी

खेलको ६० औं मिनेटमा किलियन एमबाप्पे सरबियाको स्थानमा मैदान प्रवेश गरेका थिए । एमबाप्पेले ७४ औं मिनेटमा ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलरक्षक स्पोर्टिएल्लोले बचाए । ७६ औं मिनेटमा नेइमारले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार फितलो रहयो । ८० औं मिनेटमा एमबाप्पेको प्रहारलाई पालोमिनोले उत्कृष्ट ट्याकल गर्दै गोलरक्षकसम्म नपुग्दै विफल पारे ।
८५ औं मिनेटमा जुलियन ड्राक्सलरको कर्नरमा एरिक माक्सिम चुपो मोटीङको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै ड्राक्सलरको लामो दुरीको प्रहार आकासियो ।

९० औं मिनेटमा पीएसजीले बराबरी गोल फर्कायो । निकै दबाबका बीच आक्रामक मुभ बनाएको पीएसजीका लागि मार्किन्हसले गोल गरे । चुप मोटीङको क्रसमा नेइमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले बललाई पोस्ट पार गराएका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा पीएसजीले विजयी गोल गर्यो । नेइमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पीएसजीलाई अन्तिम चार नजिक पुर्याएका थिए । इन्ज्युरी समयको छैटौं मिनेटमा लुइस मुरिएलले पाएको अवसर सदुपयोग गर्न नसक्दा पीएसजीले सेमिफाइनलमा स्थान पक्का गर्यो । नेइमार खेलको म्यान अफ द म्याच भए ।

यस जितसँगै पीएसजी क्लब इतिहासमा दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका निम्ति पीएसजीले एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *