विराट साइन्स क्याम्पसको भवन ७ वर्षदेखि प्रयोगविहीन, प्रदेश १ सरकारलाई हस्तान्तरण गरिने

विराटनगर । विराटनगर-१४ मा रहेको विराट साइन्स क्याम्पसको भवन प्रदेश नं १ सरकारलाई हस्तान्तरण गरिने भएको छ । करिब ७ वर्षदेखि प्रयोगविहीन बन्दै आएको सो भवन व्यवस्थापन समितिले प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

व्यवस्थापन समितिको क्याम्पसको भवन, क्याम्पस भित्र रहेका पुस्तक लगायतका सामाग्री हस्तान्तरण गर्ने प्रस्ताव प्रदेश सरकार अन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले स्वीकार गरेको छ ।

भवन, क्याम्पसको सम्पत्ति एक औपचारिक कार्यक्रमकाबीच चाँडै हस्तान्तरण गरिने व्यवस्थापन पक्षले जनाएको छ । क्याम्पसको भवन प्रदेश सरकार मातहत आउने भएपछि आज (मङ्गलवार) सामाजिक विकास मन्त्री जीवन घिमिरेले उक्त क्याम्पसको अवलोकन गरेका छन् । प्रदेश सरकारले क्याम्पस भवनमा पशु विज्ञान कार्यक्रम सञ्चालन गर्ने गरी विज्ञसँग छलफल सुरु भएको मन्त्री घिमिरेले बताए ।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रमको तयारीमा रहेको हुँदा शैक्षिक कार्यक्रम सञ्चालन गर्न १ देखि डेढ वर्ष लाग्ने भएकाले तत्कालका लागि प्रदेश सरकारले सीप प्रशिक्षण केन्द्र सुरु गर्ने मन्त्री घिमिरेले बताए ।

सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतका तालिम विराट क्याम्पसको भवनबाट सुरु गर्ने मन्त्री घिमिरेको भनाई छ ।

तालिम केन्द्र निर्माणका लागि सामाजिक विकास मन्त्रालय र सुनसरीको करुणा फाउण्डेसनबीच सहकार्य हुने भएको छ । करुणा फाउण्डेशनले भवनको मर्मत सम्भारको काम गर्ने भएको छ । भवन मर्मतका लागि ५७ लाख ९२ हजारको लागत इस्टिमेट निकालिएको फाउण्डेसनका योगेन्द्र गिरीले जानकारी दिए ।

वि.स.२०४८ सालमा स्थापना भएको क्याम्पस ७ वर्षदेखि बन्द भएको सोही क्षेत्रका प्रदेशसभा सदस्य जयराम यादवले बताए । तत्काल सञ्चालन गर्नुपर्ने स्थानीयको माग रहेको प्रदेशसभा सदस्य यादवले बताए । उनले भने,‘प्रदेश सरकारले विश्वविद्यालयको कार्यक्रम सुरु गर्ने निर्णय गर्नु गौरवको कुरा हो ।’

क्याम्पस सञ्चालक समिति र दाताले भवन अगाडि रहेको प्रतिमाको संरक्षण, कामदारको निरन्तरता र क्याम्पस भवनमा राखिएको संस्थापकहरूको नामावली रहेको शिलालेखको संरक्षण गर्नुपर्ने सर्त राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *