‘दही, चिउरा, मासु र भोड्का खान दिइन्, अनि गरिन् हत्या’

काठमाडौं । साउन २५ गते आइतबार बिहान अन्दाजी ०७:०० बजेको समयमा काठमाडाैंकाे टोखा नगरपालिका वडा नं. १० गोंगबु नवज्योति मार्गमा कालाे रंगकाे सुटकेशबाट रगत बगिरहेकाे एउटा दृश्य देखियाे । स्थानीयले साे बारे प्रहरीलाई जानकारी गराए ।
त्यहाँ पुगेकाे प्रहरी टाेलीले प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहितकाे सुटकेश खाेल्याे । त्यसभित्र टाउकाे र खुट्टाबिनाकाे मानिसकाे शव फेला परेपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडाैंकाे संयुक्त प्रहरी टोली अनुसन्धानमा खटियाे । तत्कालै तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गरियाे । उक्त कुकुरले शव फेला परेकाे अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा फेला पार्याे ।
शवबाट कुनै क्लु फेला नपरेपछि प्रहरीले अनुसन्धानका क्रममा साउन २६ गते सामाजिक सञ्जाल र मिडियामार्फत् मृतककाे तस्विर सार्वजनिक गर्याे । साेही दिन मृतकका मामाले उनकाे सनाखत गरे । मृतक रोल्पाकाे रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने एकिन भएपछि प्रहरीले थप अनुसन्धान थालेकाे थियाे । अनुसन्धानकै क्रममा मृतक बाेहरा विगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएको पाइयाे ।
विभिन्न क्लुमार्फत् प्रहरीले हत्या भएकाे घर फेला पारेपछि साउन २६ गते चितवनबाट पक्राउ परिन् हत्यारा ३७ वर्षीय कल्पना मुडभरी (पौडेल) । चितवन कालिका नगरपालिका वडा नम्बर ७ घर भई हाल काठमाडाैंकाे टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्ग बस्दै आएकी उनले हत्या गरेकाे पनि स्वीकार गरिसकेकी छिन् । उनी कलाकार समेत रहेकाे खुलेकाे छ ।
चितवनकाे शक्तिखोरस्थित माईतीबाट पक्राउ परेकी उनले प्रहरीसँगकाे बयानमा उनी र मृतकबिचकाे सम्बन्ध पनि खुलाएकी छिन् । बाेहरा र उनीबीच करिब ३/४ बर्ष देखि फेसबुक मार्फत् चिनाजा भएकाे, उनकाे कोठामा बेला बेलामा भेट्न आउने गरेकाे बताएकी छिन् ।
बाेहराले आफ्नाे फोटो राखी फेक फेसबुक आईडी खाेलेर चलाउने गरेको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको पनि उनले बयानमा भनेकी छिन् । अभियुक्त पाैडेलका अनुसार घटनाकाे दिन आफू बसेको होटलबाट बा७२प ५६४४ नम्बरकाे स्कुटी प्रयोग गरी कल्पनाकाे काेठामा पुगेका थिए । त्यसपछि कल्पनाले मृतक बाेहरालाई दही, चिउरा, मासु र भोड्का खान दिइन् र बेहाेसीमा उनकाे हत्या गरी टाउकाे र खुट्टा एउटा झाेलामा र शव सुटकेशमा राखि पश्चिम बाटोको छेउमा फालेर कोठामा फर्किएकाे प्रहरीले बताएकाे छ ।
२५ गते बेलुकी बिरामी लिएर काठमाडाैं आएर फर्कन लागेको भन्दै चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरेर सोही एम्बुलेन्सबाट चितवन गएकाे पाइएकाे र त्यहीबाट उनलाई पक्राउ गरिएकाे पनि प्रहरीले जानकारी दिएकाे छ । अनुसन्धानको क्रममा घटनामा कल्पनाकी छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले उनलाई पनि पक्राउ गरिएकाे प्रहरीकाे भनाइ छ ।
घटनास्थलबाट प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपीङ ट्याबलेटको खोल र मोबाईल सेटहरु बरामद गरेकाे छ ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।








