होम आइसोलेसनमा बस्नेहरुका लागि सरकारले तोक्यो मापदण्ड

काठमाडौं । होम आइसोलेसनमा बस्नेहरुका लागि सरकारले मापदण्ड तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै संक्रमित व्यक्ति आफू घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु सार्वजनिक गरेको हो ।

होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षीत रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा सौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने छ ।

यस्तै, सामूहिक रुपमा सौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

यसैगरी दाँत माझ्ने ब्रस लागयतका सामानहरु बेसिन बाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ । बढी जोखिममा रहने समूह (दिर्घ रोगी, ६० वर्षमाथिको जेष्ठ नागरिक, गर्भवति र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने छ।

यस्तै दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने छ ।
संक्रमितलाई स्वास प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।

स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तिमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थका बारेमा जानकारी दिनुपर्ने छ । हरेक स्थानीय तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने छ । स्वास्थ्यकर्मी वा नर्सले एक जना विरामी हेरेबाफत दिनको २०० रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *