सिकाइ सुधारका लागि अनिवार्य बन्दै प्राक्टिस बुक

काठमाडौं । चितवनस्थित भीमोदय माविले कक्षा ८ र १० मा सिकाइ सुधारका लागि गणित, विज्ञान र अङ्ग्रेजी विषयको प्राक्टिसबुक लागू गर्दै आएको छ । विद्यालयले ८ र १० मा डि.आर. सिंखडाको गणित विषयको प्राक्टिसबुकबाट अभ्यास गराउन शुरु गरेको दशक बितिसकेको छ ।

सामुदायिक विद्यालयमा सिकाइ सुधारका लागि प्राक्टिस बुक क्याप्सुल जस्तै भएको विद्यालयका प्रअ डा. हरि कँडेल बताउँछन् । विद्यालयले सिकाइको दायरा बढाउन, विद्यार्थीलाई मिहिनेती र प्रतिस्पर्धी बनाउन प्राक्टिस बुकबाट अभ्यास गराउने र गृहकार्य दिने गरेको प्रअ डा. कँडेलले बताए ।

पाठ्यपुस्तकले पाठ्यक्रम सबै नसमेट्ने र अभ्यासका लागि प्रश्नहरु पनि धेरै नहुने भएकाले विषयगत ज्ञानको दायरा बढाउन विद्यालयहरुमा प्राक्टिस बुक अचुक अस्त्र सावित भएको उनले बताए । डा. कँडेलले भने–‘पाठ्यपुस्तकमा अभ्यासका लागि बढीमा २५ प्रश्न भए प्राक्टिस बुकमा २५० हुन्छन् । यसले पाठको कन्सेप्ट धेरै तरिकाले बुझाउने काम गर्छ ।’

कास्कीस्थित माछापुछ्रे माविले पनि विद्यार्थीहरुलाई प्राक्टिसबुकबाट अभ्यास गराउने गरेको छ । विद्यालयले बजारमा पाइने मात्रै होइन आफै तयार समेत गर्ने गरेको छ । विद्यालयका प्रअ सन्तोष आचार्य विद्यार्थीहरुको ज्ञानको दायरा बढाउन, मिहिनेती र प्रतिस्पर्धी बढाउन विद्यालय आफैले प्राक्टिसबुक छपाएर विद्यार्थीलाई अभ्यास गराउने गरिएको बताउँछिन् ।

पाठ्यपुस्तक पढाएको भरमा विद्यार्थी निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्दैनन्, किताबमुखी नभएर विषयमुखी बनाउँदै ज्ञानको दायरा बढाउन प्राक्टिस बुक अत्यावश्यक रहेको प्रअ. आचार्य बताउँछन् । विद्यालयले सामाजिक, अनिवार्य र ऐच्छिक गणित, जनसंख्या तथा वातावरण लगायतका प्राक्टिसबुक तयार पारेको छ । कक्षा ३ देखि ५ सम्मका लागि पनि सामान्य ज्ञानको प्राक्टिस बुक तयार पारिएका छन् । विषयको गहिराइसम्म पुग्न, धेरै शिराबाट विषयलाई बुझ्न विद्यार्थीहरुका लागि प्राक्टिसबुक अत्यावश्यक रहेको प्रअ आचार्य दाबी गर्छन् ।

काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रअ हेरम्वराज कँडेल पनि विद्यार्थीलाई उत्कृष्ट बन्न र उत्कृष्ट विद्यार्थीलाई अभ्यास गर्न प्राक्टिसबुक अपरिहार्य रहेको बताउँछन् । विद्यालयले गणित, विज्ञान र अङ्ग्रेजी विषयको विभिन्न प्राक्टिसबुकबाट अभ्यास गराउने गरेको भन्दै प्रअ कँडेल वल्ड इज गोल्ड र प्राक्टिसबुक विद्यार्थीहरुका लागि अत्यावश्यक रहेको तर्क गर्छन् ।

शहर र अलिक सुविधा भएका ठाउँमा त शिक्षक र विद्यार्थीले विभिन्न माध्यमबाट थप सिक्न र खोज्न सक्ने भए पनि दुर्गम स्थानहरुमा प्राक्टिस बुक विद्यार्थीका लागि ज्ञान बढाउन र परीक्षाको तयारी गर्नका लागि महत्वपूर्ण हुने बताउँछन् । प्राक्टिसबुकबाट अभ्यास गरेका विद्यार्थीको सिकाइ नगरेका विद्यार्थीको भन्दा केही बढी पाइएको उनले अनुभव सुनाए ।

यसरी शिक्षक र विद्यार्थीहरुले सिकाइ सुधारका लागि प्राक्टिस बुक अत्यावश्यक रहेको बताइरहँदा सरकारले भने प्राक्टिस बुक र ओल्ड इज गोल्ड(प्रश्नहरुको संगालो) मा रोक लगाउने निर्णय गरेको छ । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको २५ को ६ मा यस्ता सामग्री विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृति प्रदान नगरिने उल्लेख छ ।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले भने प्राक्टिस बुकमा रोक लगाउने सरकारको निर्णयलाई अदूरदर्शी भएको बताउँछन् । गरिब विद्यार्थीले किन्न नसक्ने कुरालाई ध्यानमा राखेर गरिएको निर्णय भए पुस्तकालयमा राखेर सबै विद्यार्थीलाई अभ्यासको अवसर दिने विकल्प अपनाउन सकिने उनको भनाइ छ ।

सरकारले यो उमेरका विद्यार्थीलाई पाठ्यपुस्तकबाहेकको ज्ञान बोझ हुन्छ भन्ने आशयले यो निर्णय गरेका भए पनि यो आशय पनि गलत हुने कोइरालाको भनाइ छ । फरक फरक तरिका र विधिअनुसार फरक स्रोतबाट ज्ञानलिने प्रचलन विश्वभरी रहेको भन्दै कोइरालाले पश्चिमा देशहरुमा एउटै विषय फरक फरक विद्यालयका शिक्षकहरुबाट लिनेदिने अभ्यास रहेको बताए । बन्द गर्ने होइन प्राक्टिसबुक अझै धेरै बनाउन दिनुपर्छ, यसका लागि शिक्षकहरुलाई प्रोत्साहित गर्नुपर्छ भन्दै कोइरालाले सिक्ने ज्ञान लिने विषयमा अंकुश लगाउँदा त्यसले उल्टै नोक्सान गर्ने तर्क गरे ।

कमजोर विद्यार्थीलाई कमजोर नै राख्ने काम सरकारबाट हुनु नहुने भन्दै सिकाइका लागि विद्यार्थीहरुलाई सबैखाले विकल्पहरु खुला राखिदिनुपर्ने उनको भनाइ छ ।

भीमोदय माविका प्रअ डा. कँडेल पनि सिकाइ सुधारका लागि क्याप्सुल जस्ता प्राक्टिसबुकलाई रोक लगाउन नहुने बताउँछन् । यसको संख्या उल्टै बढाउनुपर्ने भन्दै उनले गेस र गाइडसँग प्राक्टिस बुक र प्रश्नपत्रहरुको संगालोलाई दाज्न नहुने बताए ।

विश्वनिकेतन माविका प्रअ कँडेल प्राक्टिस बुकमा रोक लगाएर सरकारले शैक्षिक ज्ञानको बन्ध्याकरण गर्न खोजेको आरोप लगाए । सरकारले गरेको निर्णयलाई आलोकाँचो भन्दै प्रअ कँडेलले यस निर्णयले सामुदायिक विद्यालयको सिकाइलाई झनै साघुँर्याउने काम गर्ने तर्क गरे । माछापुछ्रे माविका प्रअ आचार्य पनि विद्यार्थीको अतिरिक्त सिकाइको बाटो बन्द गर्ने निर्णय शिक्षा मन्त्रालयले तत्काल फिर्ता लिनुपर्ने बताउँछन् ।

यता, शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेको धारणा भने फरक छ । उनी प्राक्टिसबुकबाट अझ माथि उठेर वर्कबुकहरु बनाउँदै जानुपर्ने बताउँछन् । स्कूलक भित्रको वातावरण सुधार्दै वर्कबुक प्रणालीमा जानुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *