प्रधानमन्त्री ओलीद्वारा श्रीलंकाली समकक्षी राजापाक्षेलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी महिन्दा राजापाक्षेलाई फोन गरेर बधाई दिएका छन् ।

बुधबार भएको श्रीलंकाको संसदीय निर्वाचनमा झन्डै दुई तिहाइ मत पाएकोमा प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो राजापाक्षेलाई फोन गरी बधाई दिएका हुन् ।

“प्रधानमन्त्री ओलीले आफ्नो, नेपाल सरकार, नेपाली जनता र नेकपाको तर्फबाट भारी बहुमतसहितको जितका लागि बधाई दिनुभयो ।” परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ, ‘उहाँ (राजापाक्षे)को सफल कार्यकालको शुभकामना पनि दिनुभएको हो ।’

श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्त गरेका छन् । टापु राष्ट्र श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ ।

त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *