थप ५ कोरोना संक्रमितको मृत्यु पुष्टि, कुन-कुन जिल्लाका हुन् मृतक ?

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (बिहीबार) थप ५ जनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ६५ पुगेको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङका २, सर्लाही, धनुषा र सप्तरीका एक/एक कोरोना संक्रमितको मृत्यु भएको हो ।

मोरङ्गको रंगेली नगरपालिका वडा नम्बर ८ दरवेसा बस्ने ४५ वर्षीय एक पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि कोशी अस्पताल पुर्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

त्यस्तै मोरङ्गकै विराटनगर महानगरपालिकका ४५ वर्षीय अर्का एक पुरुषको निधन भएको पनि प्रवक्ता गौतमले जानकारी दिए । उनको पनि साउन २१ गते मृत्यु भएको हो ।

यसैगरी सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर ८ की ३५ वर्षीय महिलाको साउन २१ गते मृत्यु भएको छ । सशस्त्र प्रहरी बल बलम्बु अस्पतालमा उनको मृत्यु भएको हो । त्यस्तै धनुषाका एक ७२ वर्षीय महिलाको साउन १७ गते ओम अस्पतालमा मृत्यु भएको छ भने सप्तरीका एक ४२ वर्षीय पुरुषको साउन २१ गते मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *