धरानका तरकारी व्यापारीलाई पनि कोरोना, वीपी प्रतिष्ठानमा वेड अभाव

धरान । सुनसरीको धरानमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ । धरान ३, धरान १३ र १५ मा रहेका स्थानीयहरुलाई समेत कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ कोरोना संक्रमण समुदायस्तरमा भएको देखिएको हो ।

धरानमा एकै परीवारका सहित १२ जनालाई कोरोना संक्रमण भएको पाइएको छ । यसैमा धरानका तरकारी व्यापारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा तरकारी व्यापारी सहित ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान ९ मा डेरा गरि बस्ने एक सब्जी व्यापारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो । करिब २ साता अघि भारतको विहार गएर आएका अन्दाजी २७ बर्षीय सब्जी व्यापारीमा संक्रमण पुष्टि भएसँगै धरानमा त्रास उत्पन्न भएको छ ।

उनी धरान २ भानुचोकको सब्जी मण्डीमा तरकारी व्यापार गर्ने गर्छन् । वडा नं. २ का अध्यक्ष माधव गोविन्द श्रेष्ठका अनुसार उनी स्वाब संकलन गर्नुअघिसम्म तरकारी बिक्री गर्न जाने गरेका थिए । ‘उनी धेरै जनाको सम्पर्कमा रहेको पाइएकोले धरानमा कोरोना संक्रमण जनस्तरमै फैलिन सक्ने खतरा देखियो । अहिलेलाई ऊ र उसको परीवार तथा छिमेकी र सम्पर्कमा आएकाहरुको पीसीआर गर्ने तयारी भइरहेको छ । अहिले उनीसँग सम्पर्कमा आएकाहरु आफैं पनि सम्पर्कमा आउँदैछन् ।’ श्रेष्ठले भने ।

अहिले सबैको नामावली संकलन भइरहेको र स्वास्थ्य महाशाखासँग समन्वय गरेर स्वाब संकलन गर्ने तयारी भएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले संक्रमित सब्जी व्यापारीको बुबाको भने रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । पोजेटिभ सब्जी व्यापारीको कन्ट्याक धेरै जना ग्राहकसँग भएको देखिएकोले सब्जी लिन आउनेहरुको पनि पीसीआर गर्ने तयारी भएको छ ।

वीपी प्रतिष्ठानमा वेड अभाव

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना अस्पतालमा वेड अभाव भएको छ । ७० वेडको आइसोलेसन सेन्टरमा कोरोना संक्रमितको चाप बढेको छ । कोभिडको लक्षण नदेखिएकालाई राख्ने आइसोलेसनमा वेड अभाव भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जनाएका छन् । उनले हिजो नै प्रतिष्ठानमा वेड अभाव भइरहेको भन्दै क्वारेन्टाइन र विभिन्न अस्पतालहरुलाई समन्वय गरेर मात्र कोभिडका विरामी पठाउन आग्रह गरेका थिए ।

प्रतिष्ठानमा अहिले ७७ जना कोरोना संक्रमित रहेका छन् । वेड अभावका कारण हिजो धरानमा भेटिएका १२ जनालाई पनि आइसोलेसनमा राख्न सकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *