आजबाट उपत्यकामा जोरविजोर प्रणाली, आज कस्ता सवारी चल्न पाउँछन् ?

काठमाडौं । सरकारले उपत्यकामा कोरोना संक्रमणको जोखिम बढिरहेको निष्कर्ष गर्दै आजबाट सवारी साधनमा पुनः जोरविजोर प्रणाली लागू गर्दैछ । गृह मन्त्रालयले बुधबार हिजो नै सुचना प्रकाशित गर्दै आजबाट यातायातमा पुनः जोरविजोर प्रणाली लागू गरेको हो ।
मन्त्रालयका अनुसार आजबाट काठमाडौं उपत्यका र २०० भन्दा बढि कोरोना संक्रमित भएको जिल्लामा अत्यावश्यक सेवा वाहेक सार्वजनिक तथा निजी सवारीहरुमा जोरविजोर प्रणाली लागू गरिएको छ । आज साउन २२ गते भएकोले आज जोर नम्बरका सवारी साधन मात्र चल्न पाउनेछन् । जोर गतेका दिन कुनैपनि सवारीको अन्तिम दुई अंक जोर छ भने मात्र ती सवारी चल्न पाउने गृह मन्त्रालयले जनाएको छ ।

उदाहरणका लागि आज साउन २२ गते जोर अंक हो । आज तपाईको सवारीको अन्तिम अंक १२, १४, १६, १८, २० आदी छ भने तपाईले सवारी चलाउन पाउनु हुनेछ । भोली साउन २३ गते भने ११, १३, १५, १७, १९ आदी विजोर नम्बर भएका सवारी चल्न पाउने छन् ।
सरकारले भिडभाड कम गर्न तथा सामाजिक दुरी कायम राख्न यस्तो निर्णय गरेको हो । लकडाउन खुकुलो भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो छ ।
यसैगरी सरकारले लकडाउन पालन गर्न गराउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना संक्रमणबाट जोगिने एउटै उपाय भनेको सामाजिक दुरी कायम गर्नु हो । सोहि मुताविक सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी मापदण्ड पालना गर्न गराउन, गृह मन्त्रालय द्वारा जारी सुरक्षा मापदण्ड पालना गर्न गराउन, मास्क नलगाउने वा जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्न व्यक्तिलाई दण्ड जरिवाना समेत गर्ने भनिएको छ ।
गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानी वाहेकका सवै यात्रुवाहक सवारीहरुलाई बेलुका ७ बजेदेखि विहान ७ बजेसम्म आवागमन निषेध गरेकोमा त्यसलाई कडाईका साथ पालना गर्ने गराउने समेत भनेको छ ।








