पाष्टरलाई पत्याउँदा पाँच दिनसम्म घरमै शव, गन्हाएपछि खुल्यो रहस्य

टीकापुर । कैलालीको टीकापुर-१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म शव घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्रबाट गन्ध आउन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा शव रहेको रहस्य खुलेको हो ।

बस्ती सुरक्षा समितिका संयोजक बुद्धि दमाईले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी घटनास्थल पुगेको थियो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए । कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो ।

मृत्युपछि पाँच दिनअघि थप उपचारका लागि पाष्टरको घर ल्याइएको मोतीरामका २१ वर्षका छोरा ईश्वर डगौराले जानकारी दिए । पाष्टर र धर्मप्रति विश्वासमा परेका ईश्वर सात दिनपछि बाबु उठ्ने विश्वासमा थिए । पाष्टर चौधरी पनि शवमा पसिना आएर गन्ध आएको र शव उठ्ने विश्वासमै थिए ।

पाष्टर दीपकले टीकापुर नगरपालिका-४ का एक जनाको शरीरमा लागेको घाउ सञ्चो भएको विश्वासमा मोतीरामलाई प्रार्थना गरेर राखिएको बताए । मङ्गलबार दिउँसो मोतीरामको शरीर हेर्दा सडेर गन्हाइसकेको थियो । प्रहरी पुगेपछि ५ बजेतिर शव उठाएर टीकापुर अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *