देउवाले फागुनमा कांग्रेसकाे महाधिवेशन गर्लान् त ?

काठमाडौं । नेपाली कांग्रेसको यहि फागुनमा हुन गइरहेको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता वितरण तथा नविकरणको काम सुरु भएको छ । नेपाली कांग्रेसले १४ औं महाधिवेशन निर्धारित समयमै गर्ने जनाउँदै क्रियाशिल सदस्यता नविकरण र वितरणको कार्य अगाडी बढाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि कांग्रेसको वडागत तहमा क्रियाशिल सदस्यता वितरण थालिएको बताए । कांग्रेसले आन्तरिक समाजोजन गरीएका ६५ जिल्ला भित्रका वडागत तहमा क्रियाशिल सदस्यताको काम अगाडी बढाइसकेको छ ।
क्रियाशिल सदस्यता वितरणको काम वडा तहमा रहेका समितिहरुको हो । सोहि अनुसार आन्तरिक समायोजनको काम जिल्ला समितिले गर्नेछ । तथापि, जिल्ला समितिलाई आन्तरिक समायोजनको काम सम्पन्न गर्न असहज भएको छ ।

आउँदो पुस ६ गतेदेखि जिल्ला महाधिवेशन गर्ने कार्य तालिका रहेको छ । जिल्ला अधिवेशनमा क्रियाशिल सदस्यहरुले सहभागिता जनाउने छन् । जसका लागि कांग्रेस केन्द्रीय कमिटिले तल्ला कमिटिहरुमा क्रियाशिल सदस्यहरुको नामावली पठाउने प्रावधान छ ।

२०७२ सालमा भएको पार्टीको १३ औं महाधिवेशनमा चार लाख ७० हजार क्रियाशिल सदस्य रहेको थियो त्यसपछि फोरम लोकतान्त्रिक पार्टीलाई कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारलाई २५ हजार क्रियाशिल सदस्यता दिने भनिएको छ । त्यो सँगै कांग्रेसमा करिब ५ लाखको हाराहारीमा क्रियाशिल सदस्य रहेका छन् ।

१४ औं महाधिवेशनमा थप २ लाखलाई क्रियाशिल सदस्यता वितरण गर्ने अनुरुप कामहरु भइरहेका छन् । कांग्रेसको विधान अनुसार एउटा वडामा कम्तिमा ४२ जना क्रियाशिल सदस्य हुनुपर्ने प्रावधान छ । पार्टीले साधारण र क्रियाशिल गरी दुई प्रकारका सदस्यता वितरण गर्ने गर्दछ ।

क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय प्रतिनिधि बनेकाहरू महाधिवेशन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुन पाउँछन् र उनीहरुले नै पार्टीको सभापति लगायत केन्द्रीय समिति निर्वाचित गर्ने प्रावधान रहेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिका रूपमा आउने चार हजार एक सय २५ प्रतिनिधि र साबिकका केन्द्रीय सदस्य तथा पदाधिकारी महाधिवेशनका मतदाता हुने बताइएको छ ।

बर्तमान पार्टी सभापति शेर बहादुर देउवाको कार्यकाल गत फागुनमै सकिएको थियो । पार्टीको विधान अनुसार उनले एक वर्ष कार्यकाल थपेर फागुन १९ सम्म पुर्याएका हुन् । पार्टीको १४ औं महाधिवेशन फागुनमै गर्ने अवस्था नरहे देउवाले संविधानमा राजनीतिक दलसम्बन्धी दिइएको अधिकार प्रयोग गरी छ महिना म्याद थप गर्न पाउने छन् । देउवाले यहि अधिकार प्रयोग गर्दै फागुनमा बोलाइएको १४ औं महाधिवेशन आफु अनुकुल नभए ६ महिना सार्ने अवस्था आउने आशंका उब्जिएको छ ।

पार्टीभित्र देउवा विरोधी कृष्ण सिटौला, गगन थापा, शेखर कोइराला, सुजता कोइराला, रामचन्द्र पौडेल पक्ष फागुनको महाधिवेशन कुनैपनि हालतमा सार्न नहुने अडानमा छन् । तर, कोरोना भाइरसको संक्रमण अहिलेकै अवस्थामा रहिरहे फागुनमा तोकिएको कांग्रेसको महाधिवेशन थप ६ महीना पछि नधकेलिएला भन्न सकिन्न । किनकि, यसपटक कांग्रेसका युवा नेताहरू देउवालाई पुनः सभापतिमा नदाेहाेर्याउने पक्षमा छन् ।

पार्टीका दाेस्राे पक्षका नेता तथा स्थानीय, जिल्ला र क्षेत्रिय कार्यकर्ता नेतृत्व हस्तान्तरणकाे पक्षमा छन् । पार्टी सभापति देउवा भने पुनः एक कार्यकाल सभापति खाने रणनीतिमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *