तेक्वान्दो कार्यसमितिका अध्यक्षसहित तीन जनाद्वारा राजीनामा

चितवन । जिल्ला तेक्वान्दो कार्यसमिति चितवनका अध्यक्ष पुष्पराज जोशीसहित तीन जनाले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष जोशी, वरिष्ठ उपाध्यक्ष रोशन खान र कार्यसमिति सदस्य मीरा थापाले पदबाट राजीनामा दिएका हुन । जोशी, खान र थापा राष्ट्रिय खेलकुद परिषद् मातहतका सहायक प्रशिक्षण हुन ।

नयाँ खेलकुद विकास ऐन २०७७ ले राखेप अन्तर्गतका कर्मचारीहरू कुनै पनि सङ्घ तथा समितिहरूमा बस्न नपाउने व्यवस्था गरेपछि जिल्लाका तीन जनाले पदबाट राजीनामा दिएका हुन । जागिर र समितिको पदमध्ये एक रोज्नु पर्ने अवस्था आएकाले कार्यसमितिबाट राजीनामा दिएको अध्यक्ष जोशीले बताए ।

उपाध्यक्ष खान र कार्यसमिति सदस्य थापाले अध्यक्ष जोशीलाई राजीनामा बुझाएका हुन भने अध्यक्ष जोशीले जिल्ला तेक्वान्दो कार्यसमितिका कार्यबहाक अध्यक्ष गोपाल श्रेष्ठलाई राजीनामा पत्र बझाएका हुन । रत्ननगरमा शनिवार विशेष साधारण सभाको आयोजना गरी अध्यक्ष जोशीले राजीनामा दिएका हुन ।

साधारण भेलामा जिल्ला तेक्वान्दो कार्यसमितिको कार्यवाहक अध्यक्षमा गोपाल श्रेष्ठलाई चयन गरिएको छ । अन्य पदाधिकारी र सदस्यहरू यथावत् रहने गरी उपाध्यक्ष समेत रहेका श्रेष्ठलाई कार्यबहाक अध्यक्ष बनाइएको हो । सो अवसरमा कार्यवाहक अध्यक्ष श्रेष्ठले चितवनमा तेक्वान्दो खेलको विकासको लागि रचनात्मक काम गर्ने प्रतिबद्धता जनाए ।

रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी प्रमुख अतिथि रहेको सो कार्यक्रममा कोषाध्यक्ष धनबहादुर दराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रलाद प्रधान, निवर्तमान अध्यक्ष उत्तम गुरुङ, कार्यालय प्रमुख रामजी ढकाल, डिएसपी रविन कार्की,वडा नं १ का वडा सदस्य शालिकराम पराजुली, जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष सुदिप गिरी,सचिव शैलेश श्रेष्ठ,सहसचिव प्रदीप श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *