दुर्घटनाकाे दुई साता बित्याे, अझै पत्ता लागेन ठक्कर दिने सवारी

चितवन । घटना भएको दुई साता बितिसक्दा पनि खैरहनीको ज्यामिरेमा मोटरसाईकललाई ठक्कर दिने सवारी साधन पत्ता लाग्न सकेको छैन । साउन १ गते राती ११ बजेको समयमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाईकलमा सवार खैरहनी ५ का २२ वर्षिय आशिष सुवेदीको मृत्यु भएको थियो ।
घटना भएको दुई साता बित्दा समेत ठक्कर दिने साधन नियन्त्रणमा लिन नसकेको प्रति मृतकका हजुरबुवा सुरज सुवेदीले शंका व्यक्त गरेका छन् । सवारी पहिचान गरि कारवाहीको माग गर्दै मृतकका आफन्तले प्रमुख जिल्ला अधिकारी, चितवन प्रहरी प्रमुखलाई ध्यानाकर्षण गराई सकेका छन् ।
‘हामीले आफ्नो ठाउँबाट दबाब दिइरहेका छाैँ । प्रहरी प्रशासनले अझ गंभीर रुपमा लिएको छैन’, मृतकका हजुरबुवा सुरज सुवेदीले भने । घटनास्थलको सिसिटिभी नभएपनि रातको समयमा सवारी आउने अन्य क्षेत्रको सिसिटिभी फुटेज प्रहरीलाई उपलब्ध गराईएको समेत आफन्तले बताए ।
यता इलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख ऋषिराम घर्ती मगरले घटनाका विषयमा अनुसन्धान भईरहेको बताएका छन् । मृतकका आफन्तले उपलब्ध गराएको सिसिटिभी फुटेज मनहरी, हेटौँडाको रहेकाले पहिचानमा समस्या रहेको प्रहरी निरीक्षक मगरले बताए ।








