मिर्गौला रोगीको तथ्यांक संकलनपछि यातायात खर्च दिइने

चितवन । खैरहनी नगरपालिकाभित्र रहेका मिर्गौला रोगी बिरामीको तथ्यांक संकलन गरेर डायलाईसिसका लागि यातायात खर्च दिईने भएको छ । नगरभित्र कति जना बिरामी छन्, उनीहरुले कति पटक डायलाईसिस गर्छन्, सोको पूर्ण तथ्यांक लिईने छ ।
साेही तथ्यांकका आधारमा नगरले चालु आर्थिक वर्षमा विनियोजन गरेको वजेटबाट उनीहरुलाई अस्पताल सम्म पुग्नका लागि यातायात खर्च दिईने नगर प्रमुख लालमणि चौधरीले बताए । असारमा सम्पन्न भएको सातौँ नगरसभाले मिर्गौला पीडित बिरामीका लागि अस्पतालसम्म पुग्न यातायात स्वरुप प्रदान गर्न २ लाख रुपैयाँ छुट्याएको छ ।
‘नगर सभाले २ लाख विनियोजन गरेको छ । तथ्यांक संकलनपछि अपुग हुने स्थिति देखिएमा पुषको नगर सभाले थप बजेट विनियोजन गर्छ । कागजपत्र पुरा गरेका बिरामीलाई चौमासिक रुपमा यातायात खर्चको रकम दिईने छ’, नगर प्रमुख चौधरीले बताए ।
सामाजिक विकास समितिको बिहीबार बसेको बैठकले एचआईभी पीडित र विपन्न समुदायको स्वास्थ्य बीमाका लागि कार्यविधि बनाउन एक समिति गठन गरेको छ । सामाजिक विकास समिति संयोजक मनेजर महतोको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र महिला तथा बालबालिका शाखा प्रमुख कृष्णकुमारी गुरुङ सदस्य रहेको कार्यविधि निर्माण समिति बनाईएको स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले बताए ।
कार्यविधि निर्माणपछि त्यस्ता व्यक्तीहरुको बीमा प्रक्रिया सुरु हुनेछ । स्वास्थ्य बीमाका लागि नगरपालिकाले यो वर्ष ३ लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको सामाजिक विकास समिति संयोजक महतोले बताए । बैठकमा नगर प्रमुख चौधरी, उपप्रमुख सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, स्थानीय शिक्षा अधिकारी राजु वानियाँ, स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी,सामाजिक विकास समिति सदस्यहरु मैया विक, पवन श्रेष्ठ, कृष्ण सुवेदीको उपस्थिति रहेको थियो ।








