सन्दीप लामिछाने ट्रिनिडाड एण्ड टोबागो जाँदै

काठमाडौं ।नेपाली लेगस्पेनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न त्यसतर्फ प्रस्थान गर्दैछन् ।

उनी कोरियन एअरको चार्टर्ड फ्लाइटबाट कोरिया जाँदैछन् । त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागो जानेछन् । उनी अगष्ट १ मा प्रतियोगितास्थल पुग्ने उनका व्यवस्थापक रमण शिवाकोटीले जानकारी दिए ।

अगष्ट १८ देखि हुने सीपीएलमा सन्दीपले यस सिजन जमैका तल्लावाहजबाट खेल्नेछन् । प्रतियोगिताअघि सबै खेलाडी त्यहाँ पुगेर दुई साता क्वारेन्टाइन बस्नुपर्नेछ ।

बिहीबार उडे पनि लामिछाने आइतबार मात्र ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन् । यसका लागि उनले नेपालबाट कोरियन एअरलाइन्सको चार्टर्ड विमानमार्फत् कोरिया, त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गर्नुपर्नेछ ।

सीपीएल खेल्न जानुअघि उनले मंगलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए । उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

यसअघि सन् २०१९ मा उनलाई बार्बाडोस ट्राइडेन्सले ७० हजार डलरमा अनुबन्ध गरेको थियो । उक्त प्रतियोगितामा लामिछानेले पाँच खेलमा सात विकेट लिएका थिए ।

यस्तै सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सले मात्र पाँच हजार डलरमा लामिछानेलाई अनुबन्ध गरेको थियो । सो प्रतियोगितामा उनले छ खेलमा आठ विकेट लिएका थिए ।

त्रिवि खेल मैदानका कर्मचारीलाई एक लाख सहयोग
यसैबीच राष्ट्रिय क्रिकेट टोलीका सदस्य लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

सीपीएल खेल्न ट्रिनिडाड एण्ड टोबागो उड्नुअघि त्रिवि क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त सहयोग घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *