धरानस्थित वीपी प्रतिष्ठान अनिश्चितकालका लागि लकडाउन

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनिश्चित कालका लागि लकडाउन गरीएको छ । प्रतिष्ठानले चिकित्सकीय सेवाहरु सूचारु राख्दै प्रतिष्ठानको आवास क्षेत्रभित्र रहने चिकित्सक, विद्यार्थी तथा कर्मचारीलाई सचेत रहन लकडाउन घोषणा गरेको हो ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रतिष्ठानलाई अनिश्चितकालका लागि लकडाउन गरीएको प्रतिष्ठानले आज सुचना प्रकाशित गरेर जनाएको छ ।

प्रतिष्ठानका अनुसार आजदेखि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको छ । जस अनुसार प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा लकडाउनको पालना गर्नु गराउनु पर्नेछ । कहीँ कसैले यसको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत भनिएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार मोहनचन्द्र रेग्मीका अनुसार प्रतिष्ठानका स्टाफ, विद्यार्थीहरुको गतिविधिहरु रोक्न यस्तो निर्णय गरीएको हो । ‘प्रतिष्ठान भित्र कोरोना नफैलियोस भनेर हाम्रा चिकित्सक, विद्यार्थी र कर्मचारीको अनावश्यक मुभमेन्ट रोक्न यस्तो गरीएको हो ।’ रजिष्ट्रार रेग्मीले मकालु खबरसँग भने । उनले एक सातासम्म लकडाउन गर्ने र त्यसपछिको अवस्था हेरेर निर्णय गरीने बताए ।

प्रतिष्ठानमा आवास र छात्रावास प्रयोग गरी बसोबास गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा तीनका आश्रित परिवार लगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवास बाहिर नजान भनिएको छ । प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्वारा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी लगायत विद्यार्थीहरूले प्रतिष्ठान बाहिर अन्यत्र स्थान जिल्ला जानु परेमा प्रतिष्ठानबाट पूर्व स्वीकृति लिएर मात्र जान पाउनेछन् । कसैले पूर्व स्वीकृति नलिई गएको खण्डमा कानुन बमोजिम कारबाही गरीने समेत भनिएको छ ।

यसका साथै प्रतिष्ठानका शिक्षक, कर्मचारीहरूलाई आ आफ्नो काममा आउँदा अनिवार्य मास्क लगाउने तथा सामाजिक दुरी कायम गर्नुपर्ने भनिएको छ ।

पछिल्लो समय प्रतिष्ठानबाट डिस्चार्ज भएका विरामी तथा प्रतिष्ठानमा कार्यरत चिकित्सकका श्रीमानलाई समेत कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठानले उच्च स्वास्थ्य सतर्कता अपनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *