वीपी प्रतिष्ठानमा डाक्टरका श्रीमान र डिस्चार्ज भएका बिरामीमा कोरोना पोजेटिभ

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक डाक्टरका श्रीमान र प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीमा कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानमै कार्यरत डाक्टरको श्रीमानमा कोरोना पोजेटिभ देखिएपछि उनलाई हिजो नै आइसोलेसनमा लगिएको छ । उनी केही दिनअघि विरगञ्ज घर गएर आएका थिए । उनी बायो केमेष्ट्रि विभागमा कार्यरत रहेको बुझिएको छ ।
यसैगरी प्रतिष्ठानको सर्जरी वार्डमा उपचारका लागि आएका एक विरामीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी विराटनगरका पुरुष रहेका छन् । उनको उपचार पछि डिस्चार्ज भएर घर गएपछि कोरोना पुष्टि भएको हो ।
हाल उनलाई आइसोलेसनमा राखिएको छ भने, ती बिरामीको उपचारमा संलग्न नर्स, चिकित्सक तथा विरामीको सम्पर्कमा आएका आफन्तहरुलाई समेत कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।








