दुई दिनमा थप तीन कोरोना संक्रमितको मृत्युः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप तीन जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा, धनुषा र बाराका तीन संक्रमितको मृत्यु भएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १० निवासी ६५ वर्षीय एक भारतीय नागरिकको साउन ११ गते बिहान गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए । मृतक मुटु तथा मधुमेहका बिरामी थिए । उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै धनुषा जिल्ला शहिद नगरपालिका वडा नम्बर ८, डुमरिया निवासी ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ उत्पन्न भएपछि गएको साउन १० गते प्रादेशिक अस्पताल जनकपुरको आइसीयूमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा उनको साउन १ गते बाटोमै मृत्यु भएको हो ।

त्यसैगरी बारा जिल्ला फेटा गाउँपालिका वडा नम्बर ३ निवासी ६० वर्षीय पुरुषको आज साउन १२ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनी निमोनिया, मस्तिष्कघात तथा मिर्गौला सम्बन्धी रोगबाट ग्रसित थिए । थप तीन जनाको मृत्यु पुष्टि भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =