‘राजनीतिमा होस् या न्यायालयमा जे गर्छ गोजीवाला कात्रोले गर्छ’

काठमाडौं । साझा पार्टीका नेता प्रकाशचन्द्र परियारले राजनीतिक दलको नेतृत्वमा देखिएको अकुत सम्पत्ति जोड्ने धोको, गरिबप्रति देखिएको असंवेदनशीलता र न्याय निमोठ्ने प्रपञ्च, दलीय दलाली र पैसाको चलखेलबारे खुला कटाक्ष गरेका छन् ।

अधिकारकर्मी, सामाजिक न्याय वकालतकर्ताको परिचय बनाएका नेता परियारले सामाजिक सञ्जाल ट्वीटर र फेसबूकमा राजनीतिक विकृति, नातावाददेखि न्यायको किनबेच र दलालीकरणबारे तिखो टिप्पणी गरेका हुन् ।

हालै सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाले गीता ढकाल हत्या काण्डमा पति रञ्जन कोइरालालाई उन्मुक्ति दिने फÞैसलादेखि चेपाङबस्ती जलाइ उठीवास लाउने प्रकरणमा मन्त्री शक्ति बस्नेतको प्रतिक्रियासम्मलाई कडा आलोचनात्मक टिप्पणी गरिरहेका परियारका केही प्रमुख अंशहरु पाठकका लागि हामीले समेटेका छौं ।

प्रस्तुत छ, साझा पार्टीका नेता प्रकाशचन्द्र परियारका सार्वजनिक अभिव्यक्तिः
जनयुद्धका जल्दाबल्दा कमरेड शक्ति बस्नेतले एउटा गोठ र गुन्द्री मात्र जलेको भन्दै सीमान्तकृत र निमुखा चेपाङहरूको उठीवासमा फेरि नुनचुक छर्किदिएछन् ।

‘जनयुद्ध’ धनयुद्धमा रुपान्तरण हुँदै गएपछि महलवालाहरुलाई तन्नम गरिबीको ओत ढाक्ने कटेरो, गोठ झिनो मसिनो लाग्दो रहेछ ।
मखन गल्लीका रामसुधन भन्दै थिए– ‘दाजु मन्त्री भएर धन्न यति मुख च्यातेछन् त !’

हो त साँच्ची आफ्नै जिल्लाका छ युवाको नरसंहारबारे त यिनी लापत्तानै थिए । नवराजकी आमाले ठिकै भन्छिन् मूर्ति बोल्ला गाँउका मुन्तरी बोल्दै बोल्दैनन् के सहयोगको आशा राख्नु ?

रुकुमका जनार्दनहरु नवराजहरुको हत्यालाई मनोहर कहाँनीयामा ढाल्न प्रपञ्च गर्ने, जाजरकोटका शक्तिहरु भेरीमा ६ वटा मुडा बगाएछ भनेर चेस खेल्ने ।

हैट शक्ति-शासकानार्दनहरुको ‘जल्लादीकरण’ पनि कर्णालीको दु :ख बनेर छचल्कियो ।
उफ ! यिनका समानता र न्यायको गीत अनि गरिबको हित पनि फेरि भेरीमै खोज्नुपर्ने भो ।

निश्चल, निर्मल, निर्दोष निर्मलाको बलात्कारपछि हत्या भएको निर्लज्ज निर्मम र न्याय निमोठिएको दिन आज २ वर्ष पूराः  जब सम्म निर्मला पन्तहरुको, अंगिरा पासीहरुको बलात्कार भइरहन्छ, हत्या भइरहन्छ र हत्याराहरुले उन्मुक्ति पाइरहन्छन, स्वयं न्याय शब्दकै बलात्कार, हत्या र अवमूल्यन भइरहने छ ।

निर्मलाको न्याय, अंगिराको न्याय
मेरो छोरी पुस्ताको न्यायका लागि ।
‪भागबण्डाको गोटीले हत्यारा छुटे भेटीले ।
नगन्य कारण देखाएर जघन्य अपराधलाई उन्मुक्ति दिने चोलेन्द्रजंग महाराजहरुलाई महाभियोग रे ? महाअभियोग त न्यायको प्रतिमूर्तीको उपमा पाउन लायक सुशीला कार्कीहरुको लागि पो त !

न्यायभन्दा नाता ठूलो मान्ने श्रीमान्हरु मदिरा सेवन गरी बटुवा हत्या गर्ने चालकलाई उन्मुक्ति दिएर क्या सपना देख्नुहुन्छ होला है ?
दमका बिमारी कि दामका ?  न्यायका हत्यारालाई के भन्नुहुन्छ ?

न्यायालयको नरक यात्रा :
न्यायिक ‘विचौलिया’हरुको बन्धनमा परेका हाम्रा न्यायमूर्तीहरु सजायको मकसदमा माहिर छन्, न्यायको मकसद कुल्चिएर ।
हो त ! श्रीमान्हरुले आदेश कति हो कति दिनुभयो त्यहीँ न्याय त दिनुभएको छैन नी ।

जब न्यायालय तन्नम अविश्वासी, खुलेआम लेनदेन र दलीय दबाबको दलाली बन्दै जान्छ लोकलाजको विषय कहाँ बन्छ र ?
हुन त लोकतन्त्रमा ‘लोकमानतन्त्र‘ हाबी नबनेर के बनोस् ? न सपना न बिपना ।
कसका लागि राजनीति ?
कसका लागि समता ?
कसका लागि न्याय ?
कसका लागि सुशासन ?
कसका लागि सम्वृद्धि ?
किन चाहियो सात पुस्ता पुग्ने अकुत सम्पत्ति ?
किन नेताहरु कुर्सीमै बसेर आर्यघाट जान चाहन्छन् ?
जे गर्छ जनताको नाममा यो गोजीवाला कात्रोले गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *