खैरहनीबाट गांजासहित पाँच जना पक्राउ

चितवन । चितवनको खैरहनीमा अबैध लागुऔषध गाजासहित पाँचजना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको विशेष टोलीले खैरहनीको दुई छुट्टाछुट्टै स्थानबाट पाँचजनालाई १२ किलो भन्दाबढी गाजा सहित पक्राउ गरेको हो ।
प्रहरीले शनिबार खैरहनी ८ बाट १२ किलो २ सय ग्राम गाजा सहित दुईजनालाई र शुक्रबार २ सय ६० ग्राम गाजा सहित तीनजनालाई पक्राउ गरेको थियो । राप्ती नगरपालिका १३ घर भइ हाल खैरहनी ८ मा डेरागरी बस्ने वर्ष २६ को विनय प्रजाको कोठाबाट १२ के.जी २०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।
प्रजाको कोठामा गाँजा खरिद गर्न गएका गैडाकोट नपा-१३ घर भई खैनपा-६ बस्ने बर्ष २२ का सन्दिप भ्वाजिलाई समेत प्रहरीले पक्राउ गरेको छ । त्यस्तै प्रहरीले शुक्रबार खैनपा-२ विन्दवासिनी चोक नजिकबाट लागु औषध गाँजासहित तिनजनालाई पक्राउ गरेको छ ।
प्रहरीले खैरहनी नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षीय विक्रम खनाल, खैरहनी ६ का २३ वर्षीय राज विक र खैरहनी २ का १८ वर्षीय पुर्ण घर्ति मगरलाई पक्राउ गरेको प्रहरी निरीक्षक घर्तिमगरले बताए ।
लागुऔषध गाजा सहित पक्राउ परेका सबै पाँचजनालाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








