किया सोनेटको पहिलो तस्बिर सार्वजनिक, यस्ता छन् विशेषता

नयाँ दिल्ली । किया मोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था किया मोटर इन्डियाले बिहीबार नयाँ किया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको छ । सोनेटको अवधारणा पहिलोपटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको हाे ।
यसको ताजा बाहिरी डिजाइनले व्यापक प्रशंसा पाएको थियो । सार्वजनिक गरिएको नयाँ तस्बिरका साथ सोनेटले आगामी हिउँदमा बजारमा आउँदा डिजाइनको नयाँ मानक स्थापना गर्नुका साथै कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको छ ।
किया सोनेटले चित्ताकर्षक डिजाइनलाई प्रिमियम र ताजा अपिलसँग एकाकार गर्दै उक्त ब्रान्डको डिएनएलाई जोड दिएको छ । कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा कियाको परिचायक डिजाइन विशेषताहरु, सशक्त दृश्य प्रभावका लागि त्रिआयामिक ज्यामितीय ‘स्टेपवेल’ जालिका साथ विख्यात बाघको नाक जस्तो जालि लगायतको सम्मिश्रण छ ।
‘नयाँ किया सोनेटका साथ कम्प्याक्ट एसयुभीमा धेरै ठूला बाहनमा मात्र पाइने एउटा सशक्त र मजबुत विशेषता दिने हाम्रो आकांक्षा थियो । यसलाई ध्यानमा राखेर हामीले गजबको एसयुभीमा हुनुपर्ने भनी हामीले विश्वास गरेको विशिष्ट स्पोर्टी भाव, निश्चित मुद्रा र गतिशील रुपरेखा अनुसार डिजाइन गरेका छौं,’ किया मोटर कर्पोरेसनको किया डिजाइन सेन्टरका प्रमुख तथा सिनियर भाइस प्रेसिडेन्ट करिम हबिबले भने ।
सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो । नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्ने र छिट्टै यसको ग्लोबल प्रिमियर हुने बताइएको छ । त्यसपछि आगामी पर्वको छेकोमा भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम छ ।








