सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने दुई सार्वजनिक, यस्ताे छ घटनाकाे कारण

काठमाडौं । काठमाडौंको सीतापाइलामा बस्दै आएकी २२ वर्षीय युवती पवित्रा कार्कीमाथि एसिड आक्रमण गरेको अभियोगमा पक्राउ परेका दुई जना युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।
घटना बिहीबार बेलुकी करिब साढे ७ बजेतिर घटेको हो । प्रहरीले घटेको ३ घण्टामा नै राति ११ बजे डल्लुबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरूमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद रहेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरूलाई आज दिउँसो सार्वजनिक गरेको हो ।
के हाे घटनाकाे कारण ?
कार्कीले अर्कै केटालाई मन पराएको थाहा पाएपछि मोहम्मदले उनलाई एसिड हान्ने योजना बनाएको खुलेको छ । आलमले युवतीलाई प्रेम प्रस्ताव पनि राखेका थिए । युवतीले उक्त प्रस्ताव अस्विकार गरेपछि एसिड आक्रमणकाे याेजना बनेकाे हाे ।
उनले आफूले एसिड प्रहार गर्दा चिन्ने हुनाले कामदार मुन्नालाई प्रयोग गरेर ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड प्रहार गरेको प्रहरीमा बयान दिएका छन् । पीडित युवती र आलमको करिव तीन वर्षअघि नै चिनजान भएको थियो । ती युवती केही महिना आलमको कारखानामा काम गर्ने गरेको खुलेको छ । आलम विवाहित हुन् ।








